• १३ साउन २०८१, आइतबार

बाख्रापालक कृषकलाई अनुदान

blog

कास्की समाचारदाता

कास्की, साउन ९ गते । पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाखभन्दा बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तर्गत महानगरका एक सय ९१ जना कृषकलाई ४४ लाख २० हजार रुपियाँ बराबरको अनुदान प्रदान गरिएको हो । 

महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमकाबीच सो अनुदान प्रदान गर्नुभएको हो । बाख्रापालन पकेट कार्यक्रमका रूपमा विकास भइरहेको बेला महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य कृषकहरूलाई अनुदान सहायता उपलब्ध गराएको हो । यस प्रकारको अनुदानले कृषकलाई हौसला मिल्ने नगरप्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । "महानगरपालिका कृषकहरूको सहायताका लागि सदैव सकारात्मक छ । महानगरपालिकाको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिनुपर्दछ," प्रमुख आचार्यले भन्नुभयो । आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सिर्जना गर्न महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कृषिजन्य उत्पादनहरूमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकहरूको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उहाँले आम कृषकहरूलाई अनुरोध गर्नुभयो । कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । "तपाईहरु उत्पादनमा केन्द्रित हुनुहोस् । त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ," उहाँले भन्नुभयो । उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकहरूलाई निराश हुने वातावरण सिर्जना नगरिने उहाँले विश्वास दिलाउनुभयो ।

पोखरा महानगरपालिका २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बाख्रापालन व्यवसायतर्फ कृषकहरूको आकर्षण बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । उन्नत जातका बाख्रापालनबाट कृषकहरूले मनग्य लाभ लिइरहेको बताउँदै उहाँले यसका सरकारी तवरबाट आवश्यक सहयोग तथा सहजीकरणका लागि आफूहरू तयार रहेको बताउनुभयो । 

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा बाख्रापालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइहरेको बताउनुभयो । बाख्रापालनप्रति कृषकहरूले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उहाँले बताउनुभयो । 

पछिल्लो समय पशुहरूमा देखिएको समस्या प्रति सचेत रहेको बताउँदै कडरियाले यसको रोकथाम र निदानका सम्भाव्य उपायहरूको उपयोग गरिएको बताउनुभयो । भेटेरिनरी अस्पतालका विज्ञ सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकहरूलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । कृषकहरूको समस्या समाधानका लागि आफूहरू निरन्तर खोज तथा निदानका उपायहरूको सहजीकरणमा लागिरहेको उहाँले बताउनुभयो ।

वडास्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकहरूले खुसी व्यक्त गरेका छन् । कृषकहरूका समस्याहरू समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमको निरन्तरतामा उनीहरूले जोड दिएका छन् ।