अमरराज नहर्की
तनहुँ, साउन ९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी-२, गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सवको सोमबार उद्घाटन गर्दै पाण्डेले सो धारणा राख्नुभएको हो ।
उहाँले देवघाटदेखि मुक्तिनाथ धार्मिक महत्व बोकेका दर्जनौं धार्मिक शक्तिपीठ रहेकोले प्रचारप्रसार र प्रवर्द्धन गरी धार्मिक पर्यटक बढाउन गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो। धार्मिक स्थलको धर्म र संस्कृतिलाई जसले संरक्षण गर्न सक्दैन त्यो देशको विकास असम्भव रहेको उहाँको भनाइ छ । पूर्वीय दर्शन, संस्कृति र सभ्यता विज्ञानभन्दा अगाडि रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
विज्ञान धेरै अगाडि पुगेको भान भइरहेको र गहिरिएर अध्ययन गर्ने हो भने विज्ञानभन्दा पहिले पूर्वीय दर्शन अगाडि रहेको उहाँको भनाइ छ । धर्मलाई संस्कृति, समाजसेवा र विविध क्रियाकलापमा जोडेर आर्थिक क्रियाकलाप बढाउन सकिने उहाँले बताउनुभयो । पाण्डेले भन्नुभयो, "प्रदेशमा विभिन्न पवित्रधाम तथा धार्मिक केन्द्रस्थलहरु रहेकाले धार्मिक केन्द्रहरुलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न यसपटक प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ ।" साउन ८ देखि १५ गतेसम्म सो धार्मिक महोत्सव एक करोड रुपियाँ आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ ।
मुक्तिनाथको झझल्को दिनेगरी च्यवनधाममा संरचनाहरु निर्माण भइरहेको छ । उक्त क्षेत्रमा मठमन्दिर, एक सय ८ ढुङ्गेधारा निर्माण, मोक्षकुण्ड, प्रतीक्षालय, सुन्दर बगैंचा निर्माण गरिएको छ। २०६७ कार्तिक १३ गते स्थापना गरिएको याे क्षेत्र मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले प्रख्यात रहँदै आएको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको आश्रय स्थलको रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले च्यवनधामको स्थापना गरिएको बताइएको छ । हाल उक्त धाम परिसरमा १०८ धारा, १०८ पीपल, १०८ वटा शिवलिङ्ग मोक्षकुण्ड, वासुकी नागको स्थान, सहस्र धारायुक्त गोलाकार पोखरी छ ।
गुरुयोजना निर्माण गरी उक्त क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको धाम कार्य समितिका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो । बोलबम धार्मिक महोत्सवबाट एक करोड रुपियाँ उठाउने लक्ष्य राखिएको जानकारी उहाँले दिनुभयो । मुक्तिनाथमा रहेका धार्मिक संरचनाहरु यस क्षेत्रमा पनि निर्माण गरिने मूल समारोह समितिका संयोजक विमलप्रसाद रिमालले बताउनुभयो ।
गाईलाई संरक्षण गर्न धार्मिक महोत्सवबाट सङ्कलित आधा रकम खर्च गरिने मूल संयोजक रिमालले जानकारी दिनुभयो । धामका लागि २०६७ को महायज्ञबाट एक करोड ५१ लाख, २०७३ को धार्मिक महोत्सवबाट ९६ लाख २८ हजार, विवाह, व्रतबन्ध, हल प्रयोगबाट २२ लाख, सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट एक करोड रुपियाँ, गरी ३ करोड ६९ लाख २८ हजार दुई सय १३ रुपियाँ संस्थाको नाममा सङ्कलन भएको छ । महोत्सवको मुख्य वाचकमा भागवत मन्जरी राधिका दासीजी महाराज हुनुहुन्छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यद्वय अशोककुमार श्रेष्ठ, श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, पूर्वनगर प्रमुख किसान गुरुङ, प्रमुख भागवतवाचक राधिका दासी, वडा नं २ का वडाध्यक्ष सुमनबहादुर राना, ७ का वडाध्यक्ष खड्गसिं थापा, १२ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, विश्वहिन्दु महासङ्घ नेपाल शुक्लागण्डकीका अध्यक्ष नारायण घिमिरे, धार्मिक व्यक्तित्व ठाकुरप्रसाद शास्त्री, आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् शुक्लागण्डकी अध्यक्ष तुलसीकुमारी श्रेष्ठ, व्यवसायी हरिकुमार श्रेष्ठलगायतले शान्ति बिना विकास असम्भव भएको र शान्ति कायम गर्न धार्मिक भावनाको विकास गर्नुपर्ने हुँदा यस्ता महोत्सव बारम्बार गर्नु आवश्यक रहेको बताउनुभयो ।
सेती नदीको किनारमा रहेको यो क्षेत्रलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरुको केन्द्रको रुपमा विकास गर्न खोजिएको आयोजकले जनाएको छ ।