• २८ वैशाख २०८१, शुक्रबार

बाटो चिनाउने ‘बाटो म्याप्स’

blog

बाक्लो आवादी, साँघुरा गल्ली अनि जताततै जोडिएका सडक। काठमाडौँ उपत्यकामा एकै पटकमा भनेको ठाउँमा पुग्नै अप्ठ्यारो। त्यसैमाथि यो सहरमा नयाँ मान्छेका लागि त गाडी चल्ने रुटदेखि अस्पताल, मनोरञ्जनस्थल, घुमघाम गर्ने ठाउँ पहिचान गर्नै मुस्किल।

गुगल म्याप प्रयोग गरे पनि ठेगाना बताउने नेपालीको ठेट शैलीका कारण भनेको ठाउँमा ठ्याक्कै पुग्न पनि सकिने अवस्था छैन।  अझ कहिलेकाहीँ गुगल म्यापको सानो कमजोरीका कारण झन् अप्ठ्यारो अवस्था सिर्जना भइदिन्छ। यस्तै समस्यालाई सम्बोधन गर्दै काठमाडौँ उपत्यकामा खोजेको ठाउँमा सजिलैसँग पुग्न सक्ने गरी नेपाली शैलीमा बनेको एप्स हो ‘बाटो म्याप्स’ ।

उत्साही युवाको टोलीले निर्माण गरेको बाटो म्याप्स तत्कालका लागि काठमाडौँ उपत्यकाभित्र सडक, अस्पताल, रेस्टुराँ, पार्किङलगायत धेरै कुरा पत्ता लगाउन प्रयोग गर्न सकिन्छ। अनलाइन र अफलाइन दुवै अवस्थामा प्रयोग गर्न सकिने यो एप्समा नेपाली र अङ्गे्रजी दुवै भाषाबाट ठाउँ पत्ता लगाउन सक्ने सुविधा छ। 

सञ्चालनमा आएको केही महिनामै ४० हजारभन्दा बढी पटक डाउनलोड भएको यो एप्सका अहिले १७ हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्। यसबाहेक संस्थागत प्रयोगकर्तालाई एप्लिेकसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) उपलब्ध गराएर व्यवसाय विस्तार गर्ने योजनामा यो टोली लागिरहेको छ। 

बाटो म्याप्सको कथा

बाटो म्याप्स काठमाडौँ लिभिङ ल्याब्सको सहायक कम्पनी हो। डेटा र प्रविधिको प्रयोगमार्फत नक्सा र यससँग सम्बन्धित सोलुसन्स उपलब्ध गराइरहेको कम्पनीले नेपालमा म्याप्सको प्रयोगलाई सजिलो बनाउनेतर्फ बढी जोड दिएर काम गरिरहेको छ। बाटो म्याप्स काठमाडौँ लिभिङ ल्याब्सको पछिल्लो परियोजना हो। अहिलेलाई काठमाडौँ उपत्यकाभित्र म्याप्सको सुविधा उपलब्ध गराइरहेको बाटो म्याप्सले भविष्यमा देशैभर नै सुविधा उपलब्ध गराउने योजना बनाएको कम्पनीका व्यवसाय विकास प्रमुख पृथ्वीजङ्ग खड्का बताउँछन्। आफ्नो एपमा देशैभरको नक्सा समेट्न कम्पनीले यसमा जोकोही पनि योगदानकर्ता हुन सक्ने बनाएको छ। अर्थात् बाटो म्याप्सले नसमेटेका ठाउँलाई प्रयोगकर्ता स्वयंले नै त्यसमा योगदान दिन सक्छन्। 

नेपालमा पछिल्लो समय डिजिटल म्यापको प्रयोग बढे पनि त्यसबाट आर्जन हुन सक्ने आम्दानी भने विदेश पुगिरहेको छ। गुगल म्यापले अहिले नेपालबाट लाखौँ रुपियाँ लगिरहेको छ। विकल्प नभएपछि गुगलको एपिआई प्रयोग गर्नुपर्दा धेरै पैसा तिर्नुपर्ने बाध्यता कम्पनीहरूलाई छ। बाटो म्याप्सले प्रतिस्पर्धी मूल्यमा नेपालको आवश्यकता अनुसार कम्पनीहरूलाई आफ्नो सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। 

ठाउँ पहिचानको मौलिक शैलीमा आधारित भएकाले पनि भविष्यमा बाटो म्याप्स नै उत्तम विकल्प हुने कम्पनी सञ्चालकको विश्वास छ। “आजको दिनमा हामीले ठेगाना दिँदा मन्दिर तल्तिर अथवा माथि, चोकबाट थोरै भित्र अथवा रुख भएको भन्दा अलि पर भनेर आफ्नै ठेट शैलीमा ठेगाना बताउँछौँ। अहिले उपलब्ध म्याप्समा यस्ता कुरा समेटिएको त हुँदैन तर बाटो म्याप्सले यस्तै शैलीलाई सजिलो हुने गरी बाटो अथवा ठाउँको ठेगाना बताइदिन्छ।”

के छ बाटो म्याप्समा ?

बाटो म्याप्सले छोटो समयमै एक दर्जनभन्दा बढी ठाउँ र रुट समेट्न सफल भएको छ। म्याप्समा हालैमा उपत्यकाभित्रका बस स्टप पनि राखिएको छ। जहाँबाट उपत्यकाभित्र कुन कुन ठाउँमा बस रोकिन्छन् र पाउन सकिन्छ भन्ने जानकारी लिन सकिन्छ। त्यस्तै रुटको पनि अपडेट गरिएको छ। जसले गर्दा आफूले जान चाहेको रुटमा कुन सवारी चल्छ, कहाँबाट चढ्न सकिन्छ र कति समय लाग्छ भन्ने जानकारी सजिलै लिन सकिन्छ। 

सार्वजनिक सवारी प्रयोग गर्नेका लागि यो झन् लाभदायक हुन सक्छ। यसबाहेक म्याप्सबाट पार्किङ क्षेत्रको जानकारी पाउन सकिन्छ। आफू रहेको ठाउँबाट नजिकै कहाँ कहाँ पार्किङ छ भनी बुझेर सजिलै त्यहाँ गएर पार्किङ गर्न सकिन्छ। पार्किङको अत्यन्त ठूलो समस्या रहेको अवस्थामा यो सुविधा सहयोगी हुन सक्छ। 

त्यस्तै नजिकै रहेका अटोवर्कसप, एटिएम, फार्मेसी, चार्जिङ स्टेसन, रेस्टुराँ, पेट्रोल पम्प, अस्पताल, शौचालय, मनोरञ्जस्थल, केटाकटीका लागि खुल्ने घुम्ने ठाउँ, बै्क, नाइट लाइफ, पुलिस चौकी, हुलाक, क्लिनिकलगायत नजिक रहेका ठाउँको जानकारी र दुरी यसबाट पाउन सकिन्छ। 

यसबाहेक बाटो फुड्स भनेर थपिएको फिचरमा राजधानीमा चर्चामा रहेका खानेकुरा र त्यो पाइने ठाउँ पनि राखिएको छ। यसको जानकारी पाउन भने साइन इन गर्नुपर्छ, जुन आफ्नो गुगल एकाउन्टबाट पनि सजिलै गर्न सकिन्छ। खानाको तस्बिरसहितको यो सुविधा पनि आकर्षक छ, जहाँ तपाईंले कुनै खाना मन पराएर त्यसलाई लाइक गर्नुभयो भने तपाईं त्यो खाना पाउने ठाउँको नजिकै पुग्दा एप्सले तपाईंलाई नोटिफिकेसन पठाउँछ। 

योजना

बाटो म्याप्सले अरू धेरै फिचर ल्याउने योजना बनाइरहेको खड्का बताउँछन्। एप्समै पनि इभेन्ट्स भनेर राखिएको छ जहाँबाट चल्तीका इभेन्ट्सको जानकारी र त्यस ठाउँ जाने तरिका थाहा पाउने सहजै अनुमान गर्न सकिन्छ। काठमाडौँ बाहिर पनि बाटो म्याप्सको प्रयोग बढाउने, धेरैभन्दा धेरै स्थान समेट्ने, संस्थाहरूलाई आबद्ध गराउँदै लैजाने योजनामा यो युवा समूह लागिरहेको छ। 

तर गुगल म्यापको प्रयोगमा अभ्यस्त भइसकेको अवस्थामा बाटो म्याप्सलाई आफ्नो औचित्य साबित गरिरहनुपर्ने चुनौती भने सधैँ भइरहने छ।