बीरेन्द्र ओली
काठमाडौँ, साउन ९ गते । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणताका करिब चार वर्षअघि विक्रम संवत् २०७६ साल असोज २५ गते नेपाल र चीनबिच भएका सहयोग सम्झौता कार्यान्वयनमा तीव्रता दिइने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को निमन्त्रणामा हाल नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले यस्तो प्रतिबद्धता जनाएको हो।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युयान जियाज्युन नेतृत्वको टोलीले गरेको उच्चस्तरीय भेटवार्तामा यस विषयलाई उठाएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले केही समयअघि गरेको चीन भ्रमणमा पनि चिनियाँ पक्षले सम्झौता कार्यान्वयनमा चीनको चासो व्यक्त गरेको थियो। भ्रमणपछि तिमिल्सिनाले त्यससम्बन्धी प्रतिवेदनै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रस्तुत गर्नुभएको थियो।
श्रीलङ्का हुँदै नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले हाल इटालीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आइतबार भर्चुअल संवाद गरेको थियो। त्यसपछि कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँगको आइतबारको भेटवार्तामा प्रतिनिधिमण्डलका नेता युयानले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताउनुभएको थियो।
उहाँले नेपाल र चीनबिच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, सहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवं पर्यटन विकास, युवाहरूको आदान प्रदानलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो। भेटवार्तामा युयानको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
त्यस अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबिच सदीयौँदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गर्नुभयो। उहाँले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गर्नुभयो।
आइतबार बेलुका चिनियाँ प्रतिनिधि र माओवादी केन्द्रका पदाधिकारीबिच रात्रिभोज बैठक भएको थियो। त्यस अवसरमा नेपाल र चीनबिच दुई देशको सम्बन्ध अझ विकसित गर्ने विषयमा संवाद भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभयो। “नेपाल र चीन सम्बन्धलाई अझ विकसित गर्ने उद्देश्य देखियो। दुवै देशबिच सरकार सरकार, पार्टी पार्टी र जनता जनताबिच राम्रो रूपमा विकास गर्नु पर्छ भन्नेमा संवाद भयो,” श्रेष्ठले भन्नुभयो, “नेपालको विकास प्रक्रियामा चीनले गम्भीरसाथ जोड दिएको पाइयो।” टोलीले सोमबार सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदान प्रदानलगायतका विषयमा छलफल गरेको छ।
त्यस अवसरमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्त्व दिँदै उपल्लो स्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो। “सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,” सभामुखले भन्नुभयो, “द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु।”
यसैबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि चिनियाँ प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्तामा दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धबारे छलफल भएको जनाइएको छ ।