• १ जेठ २०८२, बिहिबार

पोषणमा सुधार ल्याउन सरकारबीच समन्वय आवश्यक

blog

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित सहभागी अतिथिगण । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, साउन ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पोषणको अवस्थामा सुधार ल्याउन तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले मधेश प्रदेश सरकारसँगको समन्वयमा सोमबार जनकपुरधाममा आयोजना गरेको पोषणमैत्री अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पोषणको सवालमा मधेश प्रदेश सबैभन्दा पछाडि रहेको चर्चा गर्नुभयो ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममै पोषण सुधारका कार्यक्रमहरू समावेश गरेको उहाँले जानकारी दिनुभयो । मधेश प्रदेशमा पोषणको अवस्था सुधार गर्न प्रदेश सरकारले विभिन्न गैरसरकारी सङ्घ संस्थासँग सहकार्य गरी अघि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशमा मातृ र बाल मृत्यु दर कम गर्न प्रदेशको विभिन्न पालिकामा बर्थिङ्ग सेन्टर निर्माण, गरिबीका कारण पोषणयुक्त खानाबाट वञ्चित भएकालाई पोषणयुक्त खाना र औषधिको वितरणजस्ता कार्यक्रम सञ्चालन गरी पोषणको अवस्थामा सुधार ल्याउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा यादवले मानव विकास सूचकाङ्कको दृष्टिकोणले पछाडि रहेको मधेश प्रदेशमा पोषणको अवस्थामा सुधार ल्याउन लक्षित वर्गसम्म कार्यक्रमको पहुँच हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पोषणयुक्त खानपानको अभावमा बालबालिकाहरू कुपोषित हुनेगरेको चर्चा गर्नुभयो ।

रुडुकका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु देउवा राणाले मधेशको विकास नभएमा देशको विकास सम्भव नभएको बताउनुभयो । अन्नको भण्डार रहेको मधेश प्रदेशमा पोषणको अवस्था कमजोर हुनु दुखद भएको उहाँको भनाइ छ ।