• ८ जेठ २०८१, मङ्गलबार

'आरसीसी प्रकोपाइन' प्रविधिबाट खोला नियन्त्रण

blog

झापाको कन्काई खोला उत्तर खोला नियन्त्रणका लागि प्रयोग भएको ‘आरसीसी प्रकोपाइन’ ।

विष्णुप्रसाद पोखरेल

दमक, साउन ५ गते । झापामा पहिलो पटक ‘आरसीसी प्रकोपाइन’ प्रविधिबाट खोला नियन्त्रणको प्रयास गरिएको छ । यो प्रविधि सफल भएमा कम लागतमा सहज रुपमा खोला नियन्त्रणमा टेवा पुग्ने बताइएको छ ।

यसअघि बाँसको प्रयोग गरेर खोला नियन्त्रणको प्रयास भएपनि आरसीसी प्रकोपाइन पहिलो पटक प्रयोग भएको र यसको नतिजा राम्रो देखिएकामा आगामी वर्षमा यसलाई विस्तार गरिँदै लैजाने उद्देश्य रहेको जनताको तटबन्धन झापाका प्रमुख यादव बरालले बताउनुभयो । 

कन्काई र कमल खोलामा करिब ५ सय मिटरमा यो प्रविधिबाट प्रयोगात्मक रुपमा बाँध निर्माण गरिएको बरालले जनाउनुभयो । सिमेन्टको पोललाई त्रिखुटी बनाएर नदी तथा खोलाको कटान क्षेत्रमा बाँध निर्माण गर्ने प्रक्रिया प्रकोपाइन प्रविधि भएको पनि उहाँले जानकारी दिनुभयो । जालि सहित माटो र ढुङ्गाको बाँध धेरै नै महङ्गो तथा खर्चिलो हुने भएकाले कम बजेटमा धेरै तटबन्धन गर्न यो प्रविधि प्रभावकारी हुन सक्ने आफूहरुलाई लागेर नै यसको प्रयोग गरिएको पनि उहाँले जनाउनुभयो । 

गाडिएको पोललाई तारले बाँधेर साङ्लो बनाएर बाढीमा बगेर आएको झ्यास तथा बालुवा रोकिने गरि बार पनि लगाइनेछ । यसअघि भारतीयहरुले सप्तकोशी खोलामा यस प्रकारको बाँध बाँधेको र त्यो सफल देखिएको पनि बरालले बताउनुभयो ।

“सप्तकोशी नियन्त्रणमा भारतीयले यो प्रविधि अपनाएको र सफल भएको देखियो छ र यहाँ पनि सफल हुन्छ भन्ने विश्वास लिएका छौं”, उहाँले भन्नुभयो । यसअघि बाँस, बाँसको कर्च, र घाँस, पराल, भुुसको प्रयोग गरेर अस्थायी रुपमा प्रकोपाइन प्रविधि अपनाई तटबन्ध निर्माण गर्दा जमीन कटानको समस्या भने केही कमी भएको थियो । आपतकालिन अवस्थामा प्रकोपाइन प्रविधिको प्रयोग गरेर खोलाहरु नियण्त्रणको प्रयास हुने गरेको छ ।