• ८ जेठ २०८१, मङ्गलबार

खोला नियन्त्रण गर्न वृक्षरोपण

blog

दमक समाचारदाता

दमक, साउन ५ गते । मेचीनगर वडा नं. ४ मा नेपाल र भारतको सीमा मेची खोलाले नेपालतर्फ तीव्र कटान गरेपछि स्थानीय बासिन्दा कटान रोक्न सक्रिय भएका छन्। खोलाधारको कटान रोक्दै खोलालाई दीर्घकालीन रूपमा रोक्न टेवा पुग्ने किसिमका बोटबिरुवा लगाउन सुरु गरिएको वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो।

“हामीले हात्ती नियन्त्रण र खोला नियन्त्रणलाई सँगसँगै अगाडि बढाइरहेका छौँ,” वडाध्यक्ष कार्कीले भन्नुभयो, “हात्तीबारका रूपमा खोला तटबन्ध गर्न सकिन्छ तर अहिले हाम्रो बजेटले नभ्याउने भएकाले अस्थायी तटबन्ध गर्न लागिपरेका हौँ।” वडा नं. १ र ४ मा पर्ने प्रसाद गौडाबाट खोला बस्तीमा पस्ने खतरा बढेपछि रोकथाम सुरु गरिएको हो।

जनश्रमदान र स्थानीय स्रोतसाधन प्रयोग गरेर अस्थायी रूपमा खोलालाई नियन्त्रण गर्न जरुरी देखेर श्रमदानका लागि एक सातादेखि खटिएको उहाँले जनाउनुभयो। हात्तीको समस्या र खोलाको समस्याले स्थानीय बासिन्दालाई हैरान पारेको बताउँदै उहाँले स्थानीयवासीको सक्रियतामा दुवै समस्याको समाधान गर्न लागिपरेको बताउनुभयो।

डिभिजन वन कार्यालय र सीमामा रहेका प्रहरीको पनि यसमा सहयोग रहेको कार्कीले जानकारी दिनुभयो। “सबैले आफ्नो दायित्व सम्झेर सहयोग गरेका कारण काम गर्न सहज भएको छ,” उहाँले भन्नुभयो, “एकल प्रयास र वडा तथा नगरपालिकाले मात्र केही पनि सम्भव छैन।” पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएका र खोला नियन्त्रणमा सहयोगी हुने छ सय जाकारान्डा, छ सय जडुल, एक सय शिरीष र एक हजार जमुना, अम्बकलगायत अन्य जङ्गली बिरुवा लगाइएको कार्कीले बताउनुभयो।