• ९ जेठ २०८१, बुधबार

कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । फाइल तस्बिर

बाबुराम कार्की

बराहक्षेत्र (सुनसरी), साउन ४ गते । नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा साउन ६ गते सुनसरी आउनुहुने भएको छ । सभापति देउवाको प्रमुख आतिथ्यतामा कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुन लागेको हो ।  

बीपी कोइराला ४१औँ स्मृति दिवसको अवसरमा सुनसरी कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिनुभयो  । पार्टी सभापति देउवाले महामानव बीपी कोइरालाको इनरुवा–९ बबियामा रहेको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम सुनसरी कांग्रेसले जनाएको छ । 

सभापति देउवाले सोही दिन जिल्लास्थित कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको जिल्ला कांग्रेस कार्यालय सुनसरीले जनाएको छ । कांग्रेस सभापति सुनसरी आउने भएपछि सुनसरी कांग्रेसले तयारी थालेको सुनसरी सभापति भण्डारीले बताउनुभयो । 

कांग्रेस सुनसरीले जिल्ला सम्मेलनमा सहभागिताका लागि केन्द्रीय सदस्यहरू, कोशी प्रदेश पदाधिकारी,  जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहने सुनसरी पार्टी सचिव वीरेन्द्र शाहले जानकारी दिनुभयो ।