• ७ मंसिर २०८१, शुक्रबार

कृषि र पर्यटनलाई प्राथमिकता दिएका छौँ

blog

तनहुँका छवटा गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका भौगोलिक रूपमा सबैभन्दा ठूलो स्थानीय तह हो। स्थानीय तहको निर्वाचन–२०७९ मा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको हो। उहाँको यो दोस्रो कार्यकाल हो। ‘ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ गाउँपालिका विकास निर्माणमा अघि बढिरहेको छ। अध्यक्ष श्रेष्ठसँग गोरखापत्रकर्मी अमरराज नहर्कीले गर्नुभएको कुराकानी : 

दोस्रो कार्यकाल सम्हाल्ने अवसर पाउनुभयो के परिवर्तन ल्याएँ भन्ने लाग्छ ?

छ वर्ष पूरा गरी सात वर्ष प्रवेश गर्दै गर्दा केही फड्को मारेको अनुभूति गरेको छु। ऋषिङ फर्क अभियान, खरको छानामुक्त घरको अभियान, उज्यालो ऋषिङ अभियान, छिमेकी पालिका र जिल्ला जोड्ने सडक तथा पुल निर्माणले सार्थकता पाएको छ। एक टुक्रा कालोपत्रे नभएको गाउँपालिकामा भिरकोटदेखि दुभुङसम्म कालोपत्रे भएको छ। १० शय्याको हस्पिटल निर्माण भएको छ। टुकी बाल्नुपर्ने बाध्यता अन्त्य गरी उज्यालो बनाइएको छ। 

सामुदायिक स्वास्थ्य एकाइ गठन गरिएको छ। एक वडा एक उत्पादन, सासूसँगै बुहारी, एक घर एक धारा अभियानकै रूपमा थालनी गरिएको छ। नवलपरासीसँग जोडिने पुलको होस् अथवा विद्यालयमा मावि तहसम्म अध्ययन गर्न टाढा धाउनुपर्ने बाध्यताको अन्त्य जस्ता सम्झन र गर्व गर्न लायक काम भएका छन्। श्रृङ्गपथ मोटर मार्ग, झापुटार–काहुँ चालिसे मोटर मार्गलाई गाउँपालिकाले गौरवको सडकका रूपमा अघि बढाई कालोपत्रेलाई निरन्तरता र मर्मत सम्भारलाई व्यवस्थित गरिएको छ। सबै बस्तीमा सडक सञ्जाल र यातयातको पहुँच विस्तार गरेका छौँ। 


गाउँपालिकाका प्राथमिकता कसरी निर्धारण गर्नुभएको छ ?  

विशेष गरेर हामीले कृषि र पर्यटनलाई प्राथमिकता दिएका छौँ। कृषि क्षेत्रको उत्पादन र उपादकत्व वृद्धि गरी आत्मनिर्भरता हासिल गर्न पहल कदमी भइरहेको छ। फलफूल तथा बगैँचा व्यवस्थापन, सुन्तला खेती नमुना गाउँ कार्यक्रम र बाँझो जग्गालाई खेती गर्न अनुदान तथा फलफूल बगैँचा रूपान्तरण अभियानमा जोड दिएका छौँ। 

गाउँपालिकाभित्र रहेका सबै बाँझा जमिनको तथ्याङ्क सङ्कलन गरी भूमि बैङ्क स्थापना गर्ने र उपयुक्तताको आधारमा व्यावसायिक तथा सघन खेती प्रणालीलाई अभिप्रेरित गरेका छौँ। दुधजन्य र मासुजन्य उत्पादन प्रवर्धनका लागि नश्ल सुधार, भकारो सुधार, चरण सुधार थप प्रभावकारी बनाएका छौँ। 

गाई, भैँसी, बाख्रा, बङ्गुर, सुँगुर, माछा, कुखुरालगायतको कार्यक्रमलाई उत्पादनको आधारमा अनुदान र प्रोत्साहनको व्यवस्था गरेका छौँ। उद्यमीलाई प्रोत्साहन गर्न उत्पादनको आधारमा अनुदान र प्रविधि सहयोगको व्यवस्था मिलाएका छौँ। ऐतिहासिक महत्वका क्षेत्र, धार्मिक क्षेत्र, सांस्कृतिक पक्ष, गुफा, प्राकृतिक सौन्दर्य बोकेका क्षेत्रलाई पर्यटन पूर्वाधार निर्माण गरिरहेका छौँ। ऋषिङको काखबाट बग्ने कालीगण्डकी, सेती गण्डकीको आडमा रहेको सभ्यता, अजम्मरी माई मन्दिर, गर्गेश्वर मन्दिर, ज्यामिरेमाई मन्दिर, ऋषिङ दरबार समेटेर वृत्तचित्र बनाएका छौँ। रानीपोखरी, भिरकोट, कोट, दुभुङकोटलगायतका पवित्र धार्मिक स्थल एवं ऋषिङभित्रका विभिन्न बस्ती, रीतिरिवाज, प्रथा, परम्परा, धर्म, संस्कृति, जनजीविका र प्राकृतिक सौन्दर्य वृत्तचित्रमा समेटिएको छ। 

यहाँको सबै पक्षलाई बलियो बनाउन र प्रवर्धन गर्न यसो गरिएको हो। सेटाङ र दुभुङमा सञ्चालित घरबास कार्यक्रम व्यवस्थित गरेका छौँ। विभिन्न जातीय समुदायको सांस्कृतिक पहिचान झल्किने खालको सङ्ग्रहालय, पैदलमार्ग व्यवस्थापनमा जोड दिने छौँ। सहकारीमार्फत व्यावसायिक उत्पादन प्रवर्धन गरी आयआर्जन विस्तारमा जोड दिने छौँ। 


युवा बेरोजगारीको सम्बोधन हुँदै छ ?  

विदेशबाट फर्किएका युवाले स्वदेशमै स्वतःस्फूर्त रूपमा व्यावसाय थालनी गरिरहेका छन्। युवाले बाँझो जग्गालाई उत्पादनमा प्रयोग गरून् भनेर चक्लाबन्दी गर्ने, कृषिमा आधुनिकीकरण गरेर लागत घटाउन ध्यान दिएका छौँ। बाँझो जग्गा भएकोमा खेती गर्न इच्छुकलाई एक रोपनीको तीन हजारका दरले अनुदानको व्यवस्था गरेका छौँ। बढी रोजगारी सिर्जना हुन सक्ने सम्भाव्य क्षेत्रको पहिचान गरी छोटो तथा लामो अवधिको रोजगारी सिर्जना गर्न लागिपरिरहेका छौँ। कृषि, पशुपालनको क्षेत्र तथा अन्य व्यावसायिक गतिविधिमार्फत स्वरोजगार सिर्जनालाई प्रोत्साहन गर्ने काम गरिरहेका छौँ। पिपलटार उद्योगग्रामलाई प्रदेश र सङ्घ सरकारसँगको समन्वयमा शीघ्र सम्पन्न गरी औद्योगिक गतिविधिमार्फत रोजगारी सिर्जनाको वातावरण निर्माण गर्न प्रयत्न भइरहेको छ। 


ऋषिङ गाउँ फर्क अभियानको औचित्य के हो ?  

बसाइँसराइले गर्दा गाउँ उराठ भएका छन्। गाउँ रित्तो भएर गाउँको जमिन पनि बाँझो बन्ने क्रम बढिरहेको छ। गाउँबाट अध्ययन र रोजगारीका लागि सहर पसेकालाई गाउँ फर्काएर पहिलाको जस्तै भरिभराउ गाउँ बनाउन यो अभियान ल्याइएको हो। गाउँ फर्कनेका लागि घर जग्गा खरिदका लागि दुई लाख रुपियाँ अनुदानको व्यवस्था गरेका छौँ। खासमा गाउँघरमा बस्ने व्यक्ति भए विकास गर्न सहज र उत्साह पनि हुन्छ भन्ने लागेर यो अभियान चलाइएको हो। अवसर सिर्जनाका लागि पनि यो अभियानले सहयोग गर्छ तर आशातीत रूपमा अभियानले सार्थकता नपाए पनि पहल जारी रहने छ।  


शैक्षिक सुधारका लागि गाउँपालिकाले कस्तो कदम चालेको छ ?  

सबै विद्यालयमा शैक्षिक गुणस्तर उकास्न नियमित अनुगमन तथा निरीक्षणको प्रबन्ध गरिएको छ। विद्यालयमा विद्युतीकरण र विद्युतीय हाजिरीलाई नियमित गरिरहेका छौँ। उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम, छात्रवृत्ति वितरण कार्यक्रम र एसइई दिने विद्यार्थीलाई निःशुल्क कोचिङको सञ्चालन जस्ता कार्यक्रमलाई थप सुधारका साथ निरन्तरता दिएका छौँ। विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय गाभ्ने, तह थप्ने, तह घटाउने, कक्षा थप्ने र घटाउने कार्य गरिएको छ। पालिकाभित्र विद्यालयबाट एसइई उत्तीर्ण गरी एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई पाँच लाख छात्रवृत्तिको व्यवस्था गरेका छौँ।