• ८ मंसिर २०८१, शनिबार

कांग्रेसको पारदर्शी प्रयास

blog

लोकतान्त्रिक व्यवस्था नागरिकप्रति पूर्ण उत्तरदायी राजनीतिक प्रणाली हो। नागरिकलाई सङ्गठित हुने स्वतन्त्रता लोकतान्त्रिक प्रणालीमा मात्र सम्भव हुन्छ। नागरिकप्रति उत्तरदायी हुँदै सङ्गठित राजनीतिक दलहरू नै लोकतन्त्रका प्रमुख अभ्यासकर्ता हुन्। आवधिक निर्वाचनका माध्यमबाट जनमत आत्मसात् गरी शासन व्यवस्था सञ्चालन गर्ने राजनीतिक दलहरू स्वयंमा उत्तरदायी, पारदर्शी र नागरिकमैत्री हुनु आवश्यक छ। पारदर्शिता लोकतन्त्रको आधारसमेत हो। त्यसले नागरिकमा राजनीतिक दलका गतिविधि अवलोकन, मूल्याङ्कनदेखि सहभागितासम्मका प्रक्रियामा स्पष्टता ल्याउँछ। समकालीन नेपालमा राजनीतिक दलहरूप्रति अनेक प्रश्न उठिरहेको सन्दर्भमा नेपाली कांग्रेसले पारदर्शितामा नयाँ अभ्यास थालेको छ। 

प्रसङ्ग नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक हो। मङ्गलबार सो पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक रोचक देखियो। राजनीतिक पार्टीका बैठकदेखि धेरै जसो निर्णय बन्द कोठामा हुने गरेको प्रवृत्तिमा सानेपा बैठकले बिराम लगायो। सो केन्द्रीय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रसारण गरियो। प्रत्यक्ष प्रसारणका लागि कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा मल्टिमिडिया व्यवस्थापन गरेको थियो। कांग्रेसको आधिकारिक फेसबुक पेजबाटै बैठक प्रत्यक्ष हेर्ने व्यवस्था गरियो। कांग्रेस केन्द्रीय समितिमा भएको यावत् बहस र छलफललाई आमनागरिकसमक्ष पारदर्शी रूपमा प्रस्तुत गरिएको यो परिघटनालाई मिडियाले उच्च महत्व दियो। अधिकांश मिडियामा यो विषय नयाँ अभ्यासका रूपमा छायो।

राणानकालको अन्धकार चिर्न साढे सात दशकअघि बिपी कोइरालाको नेतृत्वमा स्थापना भई हुर्किएको पार्टी नेपाली कांग्रेसले स्थापनादेखि नै लोकतान्त्रिक अभ्यास त गर्दै आएको हो तर यसरी पार्टीको उच्च कार्यकारिणी बैठक नागरिकका सामुन्ने खुला गरिएको भने यो नवीन अभ्यास हो। नेपाली कांग्रेसको यो अभ्यास पार्टी स्वयंको नयाँ अभ्यास त हो नै, नेपाली राजनीतिक अभ्यासमा नौलो परिघटनासमेत हो। अन्य राजनीतिक पार्टीले समेत यस खालको अभ्यास गरेको देखिएको थिएन। यसले राजनीतिक पार्टीको छलफल र निर्णय प्रक्रियामा नयाँ अध्यायको थालनी भएको छ। राजनीतिक बजारमा कतिपय नयाँ र बाँकी पुराना राजनीतिक दलहरूले आआफ्नै तौरतरिककाले पार्टीका गतिविधि सञ्चालन गरिरहेका छन्। नयाँ हुन् वा पुराना सबै जसो राजनीतिक दलका तौरतरिका परम्परागत नै छन्। कांग्रेसको नयाँ अभ्यासले नयाँ दिशामा बहससमेत सिर्जना गर्न सक्ने देखिन्छ।

 संसार प्रविधिमैत्री हुँदै छ। लोकतन्त्र, प्रविधि र पारदर्शितामा व्यापक अन्तरसम्बन्ध छ। लोकतन्त्र नागरिकको शासन हो। त्यसमा नागरिकका सहभागिता र सहमतिको ठुलो महत्व हुन्छ। नागरिकबाट राजनीतिक दल अलग हुनु भनेको पानीबाट माछालाई अलग गराउनु जस्तै हो। पानीमा मात्र माछाको अस्तित्व हुन्छ। पानीबाट अलग गराउँदा माछाका जीवन रहन सक्दैन। त्यसै गरी नागरिकका बिचमा मात्र राजनीतिक पार्टीको अस्तित्व र सार्थकता सम्भव हुन्छ। राजनीतिक पार्टीहरू नागरिकका जीवनसँग जोडिन नसकेको गुनासो बढिरहेकै छ। गुनासो मात्र होइन, आक्रोश र निराशासमेत छ। यस्तो अवस्थामा कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकलाई प्रविधिमैत्री पारदर्शितामा लैजानु आमनागरिकसित जोडिने नयाँ कडीसमेत हुन सक्छ। 

नेपाली कांग्रेसको नयाँ प्रविधिमैत्री अभ्यासले राजनीतिक दलहरूलाई थप पारदर्शी हुनुपर्ने चुनौतीसमेत खडा गरेको छ। राजनीतिक दलहरू पारदर्शी हुन नसकेको विषय उठान भइरहेको छ। वित्तीय रूपमा समेत धेरै प्रश्न उठिरहेको दलहरूले निर्वाचन आयोगमा बुझाएको वित्तीय विवरणले समेत देखाइरहेको छ। निर्णय प्रक्रियामा लोकतान्त्रिक पद्धतिभन्दा व्यक्तिकेन्द्रित प्रवृत्ति सबै जसो राजनीतिक दलमा हाबी छ। पार्टीका नियमित बैठक बसेको देखिँदैन। स्वयं नेपाली कांग्रेसले पछि झन्डै एक वर्ष पुग्न लाग्दा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बसेको हो। यसअघि निर्वाचन तथा सरकारमा सहभागितामा समेतमा बैठक बसेका थिएनन्।

 राजनीतिक दलहरू तथा जनप्रतिनिधिको विधायिका तथा कार्यकारिणीमा प्रस्तुति र गतिविधिका बारेमा समेत अनेक प्रश्न उठ्ने गरेका छन्। राज्यका तीन तहमै उठ्ने यस्ता प्रश्नहरू उत्तरदायित्व, पारदर्शिता र सुशासनसित सम्बन्धित छन्। उत्तरदायी दल, जनप्रतिनिधि र विधायक मात्र पारदर्शी हुन् सक्छन्। पारदर्शिताले उत्तरदायित्व अझ बढाउने छ, राजनीतिको समग्र प्रक्रियालाई नागरिक मैत्री बनाउन सहयोग पु-याउने छ। आर्थिक तथा सामाजिक रूपमा देशको समृद्धि अहिलेको मूल चुनौती हो र यो चुनौती चिर्ने राजनीतिक दलहरू नै हो। यसमा नेपाली कांग्रेसको नवीन पारदर्शी अभ्यासले नयाँ आयाम थप्न सक्ने विश्वास गर्न सकिन्छ।