• १३ साउन २०८१, आइतबार

पशुसेवा कार्यालय डोल्पा द्वारा कृषकलाई भैँसी वितरण

blog

विष्णुप्रसाद देवकोटा

डोल्पा, साउन ३ गते । पछिल्लो समय सदरमुकाम दुनैमा दुधको अभाव हुन थालेपछि पशुसेवा कार्यालय डोल्पाले व्यावसायिक कृषकलाई समूहमार्फत् लाहुरे (ब्याएको)भैँसी खरिद गरेर वितरण गरेको छ । कर्णाली प्रदेश सरकारको भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषक समूहलाई भैँसी वितरण गरेको पशुसेवा कार्यालय दुनैले जनाएको हो ।

आर्थिक वर्ष ०७९।०८० को स्वीकृत रकमबाट ठूलिभेरी नगरपालिका वडा नम्बर २ लोचास्थित तामाखानी कृषि तथा पशुपन्क्षी सहकारी संस्थाको साझेदारीमा सहकारीका सदस्यहरूलाई भैँसी वितरण गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालय डोल्पाका निमित्त प्रमुख जरबहादुर भक्रीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकी नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागितामा १० ओटा ठुलो(ब्याएको) र ८ वटा सानो बच्चा समेत गरेर १८ वटा तामाखानी कृषि तथा पशुपन्क्षी सहकारी संस्थालाई औपचारिक कार्यक्रम गरेर हस्तान्तरण गरिएको हो ।

पशुसेवा कार्यालयको १२ लाख र तामाखानी कृषि तथा पशुपन्क्षी सहकारीको ३ लाख रुपियाँ गरी १५ लाखको लागतमा भैँसी पाडा र दाना घाँस कृषकको भैँसी खरिद गर्न जाँदा लागेको आवतजावत खर्च समेत गरी पन्ध्र लाखमा खरिद गरिएर वितरण गरिएको हो ।

व्यवसायिक रूपमा भैँसी पालन गरिरहेका सहकारी पाँच जना सदस्यलाई व्यवसाय विस्तार र नयाँ पाँच जनालाई व्यवसायिक भैँसीपालनतर्फ आकर्षित गरी बजारमा भइरहेको दुधको अभावलाई न्यूनीकरण गर्न १० जना कृषकलाई वितरण गरिएको वडाध्यक्ष कमलबहादुर क्षेत्रीले बताउनुभयो ।

ठुलिभेरी नगरपालिका वडा नम्बर ३ मा रहेको दुनै बजारमा उपभोक्ताहरूले सहजरुपमा दुध पाउने वातावरण सृजना गरी व्यावसायिक कृषकको आम्दानी वृद्धिको लागि कार्यक्रमले सहयोग पुग्ने पनि सहकारीले जनाएको छ ।