• ७ जेठ २०८१, सोमबार

विद्यालय पुग्न विद्यार्थीलाई साँघु तर्नुपर्ने बाध्यता

blog

स्थानीयले निर्माण गरेका जोखिमपूर्ण काठे साँघु । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, साउन ३ गते । भेरी नगरपालिका –२ तिमिलेमा पुल नहुँदा बालबालिकालाई विद्यालय जान साँघु तर्नुपर्ने बाध्यताले कठिन भइरहेको छ । बर्षायामको खोला वारपार गर्न नसकिने भएपछि बालबालिकाका लागि खोलामा राखिएको साँघु तर्न विद्यार्थीलाई कठिनाइ भएको हो । 

बाल विकासदेखि कक्षा ५ सम्मको पढाइ पूरा गर्न तिमिलेका बालबालिका स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जानुपर्छ । वर्षासँगै जागेका पानीका मुहानहरू जम्मा भएर बग्ने बसुन्धारा खोलाका कारण डोप्के, गुमथले, छेलो हान्ने, बुझेनी लगायतका टोलका विद्यार्थीलाई विद्यालय जान र आउन कठिन भएको स्थानीय अभिभावकको भनाइ छ ।

बसुन्धाराबाट बगेर आएको खोला तर्नका लागि घउँसेनीमा पुलको आवश्यकता रहेको स्थानीयको माग छ । नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक बलबहादुर खत्रीले पुल नहुँदा ६० जनाभन्दा बढी विद्यार्थी घण्टौँ हिँडेर  पाँचकाटियास्थित विद्यालयमा गएर पढ्न जानेगरेका छन् ।  

आफ्नो गाउँभन्दा बाहिरको विद्यालयमा बालबालिकालाई पढ्न पठाउनु पर्ने अवस्था अभिभावकहरू चिन्तित भएको प्रअ खत्रीको भनाइ छ । जनश्रमदानद्वारा स्थानीयले बनाएको काठको साँघुको सहयोगबाट त्यहाँका नागरिकहरू वारपार गर्ने गरिरहेका छन् । केही वर्ष पहिले त्यही साँघुबाट चिप्लिएर स्थानीय शेरबहादुर वलीको मृत्यु भएको थियो ।