• १३ मंसिर २०८१, बिहिबार

सुदूरको सङ्गीतमा लक्ष्मीको सुर

blog

काठमाडौँ, साउन २ गते । नाम उहाँको लक्ष्मी तर पेसागत जीवनमा नाम त्यति मेल खाँदैन, सम्भवतः लक्ष्मीप्रसाद देवकोटाको जस्तै । जन्म पनि विशेष महìव बोकेको माघेसङ्क्रान्तिको दिनमा भएको हो ।  अन्यत्रका लागि यो दिन सामान्य पर्वको अवसर मात्र हुने गरे पनि कैलालीको थारू बाहुल्य टीकापुरमा भने यो दिन मनाइने माघी स्वतन्त्रता दिवस पनि हो । त्यही दिन घिउ, चाकु र तरुललगायत विभिन्न परिकार खाएर पर्व मनाउँदै गर्दा भएको उहाँको जन्म परिवारका लागि लक्ष्मीको आगमन बराबर नै थियो । 

त्यसो त आफू जन्मेको  बखान आफैँले गरे अतिशय पनि होला तर पनि बुवा अनन्त र आमा अमृता आचार्यबाट सुन्दै आएको कथनलाई उहाँ पुनरवृत्ति गर्नुहुन्छ । वास्तवमा बुवा–आमाले उहाँलाई लक्ष्मीकै रूपमा स्विकारेर त्यही नाम राख्नुभएको हो । उहाँ भन्नुहुन्छ, “न्वारनको नाम लक्ष्मी भए पनि मेरो गलामा सरस्वती भएको महसुस गर्छु ।  सुदूरको लय पक्रिएर  सङ्गीत सिर्जनालाई जीवनको मूल ध्येय बनाएको छु ।” 

हुने बिरुवाको चिल्लो पात भने झै बाल्यकालदेखि नै उहाँको प्रतिभा प्रस्फुटन भएका थिए । बाल्यकालमा नै उहाँले गुनगुनाएका गीत र स्वरले घरमा बावुआमा जस्तै स्कुलमा शिक्षक शिक्षिका पनि मोहित हुन्थे । त्यसै कारणले उहाँलाई सबैबाट अधिक स्नेह र ममता पनि मिल्थ्यो । उहाँ भन्नुहुन्छ, “हिँड्दा, काम गर्दा वा  खेल्दा म गीत गाइरहेकी  हुन्थेँ । त्यही सुदूरको धर्तीले प्रस्फुटन गराएको स्वरले नै  आज मलाई लक्ष्मी आचार्य भनी स्थापित गराउँदै छ ।”

मोती माविबाट एसएलसी र सप्तर्षि माविबाट उच्च मावि तहको शिक्षा लिँदा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै जीवनलाई खुकुलो र फराकिलो बनाउनुपर्छ र आफैँले जित्नु पर्छ भन्ने ज्ञान हासिल भएको उहाँ बताउनुहुन्छ । शिक्षासँगै टीकापुर, कैलाली, सुदूरपश्चिम उहाँका लागि सानो बन्दै गयो । भविष्यको गोरेटो कोर्न उहाँको बाटो काठमाडौँतर्फ डोरियो । काठमाडौँको कृत्रिम परिवेशलाई आत्मसात् गर्दै उहाँको पहिलो गीत सन् २०१३ मा रामजी खाणसँग रेकर्ड भयो । उहाँ भन्नुहुन्छ, “त्यो मेरो साङ्गीतिक जीवनको नयाँ मोड थियो ।”

‘नजिक नजिक सर्छन्’ बोलको त्यो गीतले पाएको सफलताले उहाँलाई अगाडि बढ्न सहज भयो । त्यसपछि उहाँका ‘लाइहाल कालो टीका’, ‘भन साली’, ‘ओ मेरी भाउजू’, ‘जोई’, ‘जाराकी मन पराउँछ्यौ’, ‘तरुनी भेटिगै’, ‘कुरा गर्दा चिल्ला’, ‘रिली रिसमा’, ‘आफ्नै नाम मन प-यो’, ‘म हुम्लाकी छोरी’, ‘तिम्रो दिलमा’, ‘बुढी कन्या’, ‘मस्त जवानी’, ‘तीन साल अमेरिका’ जस्ता दर्जनौँ गीत रेकर्ड भए । 

ती सबै गीतमा सुदूरपश्चिम प्रदेशको भाका र देउडा बोलेका छन् । उहाँलाई सुदूरपश्चिमले नै अपनाउन खोज्यो । उहाँमा पनि देउडा संस्कृतिलाई  राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मा फैलाउने हुटहुटी जागिरह्यो । ती गीतबाट उहाँले श्रोता र दर्शकको माया र प्रेरणा पाउनु भयो । पुरस्कार र सम्मानका थाक पनि बढ्दै गए । उहाँ भन्नुहुन्छ, “श्रोता र दर्शकको त्यही माया र प्रेरणाले त अगाडि बढ्न हौस्याइरह्यो ।” 

देउडाको भाका बोकेर विदेशी मञ्चमा लाखौँ श्रोता–दर्शकलाई झुम्याउन सक्ने लक्ष्मी चीन, अस्ट्रेलिया, दुवई, सिङ्गापुर, थाइल्यान्ड, कतार, मलेसिया, भारत आदि देशका मञ्च र डबलीमा पुगिसक्नुभएको छ । गीतकार सङ्गीतकारले पछिल्लो समय विकसित भएका श्रोताको परिवर्तित रुचि, नयाँ प्रविधि र नयाँ नयाँ मिडियालाई पक्रनु चुनौती नै बनेको छ । उहाँ भन्नुहुन्छ, “परिवेश र परिस्थिति परिवर्तन भएको छ । तिनीहरूकै तालमा सुदूरको स्वरको लय मिलाउँदै जानु पर्छ ।”

व्यावसायिक कलाकार भएर  टिक्नु र बिक्नु कठिन भएको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “अवसर पाउन र पाएको अवसरमा आफ्नोपन बचाएर उभिन झन् कठिन छ ।” उहाँमा सङ्गीतको बाटोले कहिल्यै असफलतातिर डो-याउँदैन भन्ने दरिलो आत्मविश्वास पनि छ ।