• २८ वैशाख २०८२, आइतबार

बिम्स्टेक विदेशमन्त्रीस्तरीय रिट्रिट बैठक, आपसी सहयोग वृद्धिबारे छलफल

blog

काठमाडौँ, साउन २ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले क्षेत्रीय विकास र समृद्धिका लागि आपसी सहयोग र सहकार्यको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। थाइल्यान्डमा सम्पन्न बिम्स्टेकका विदेशमन्त्रीस्तरीय ‘रिट्रिट’ बैठकमा आपसी सहयोग सुदृढ पार्ने उपायबारे गम्भीर छलफल भएको छ। 

बिम्स्टेकको २४ औँ मन्त्रीस्तरीय बृहत् बैठक आउँदो नोभेम्बरमा थाइल्यान्डमा हुने तय भएको छ। त्यसैको गृहकार्यका लागि यो प्रारम्भिक बैठक हो। मन्त्रीस्तरीय बैठकले बिम्स्टेकको छैटौँ शिखर सम्मेलनको खाका तय गर्नेछ। थाइल्यान्डको राजधानी बैङ्ककमा सोमबार आयोजित बैठकमा बिम्स्टेकका विदेशमन्त्रीबिच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल गर्दै यसका लागि क्षेत्रीय विकासका सम्भावित क्षेत्रमा सहकार्य र साझेदारी बढाउनुपर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बैठकमा सहभागी हुनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा तथा प्रविधिसहितका क्षेत्रका विविध पक्षमा गहन छलफल भएको औँल्याउनुभयो। उहाँले भन्नुभयो, “बैङ्ककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीले आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे फलदायी छलफल गरेका छौँ।” 

हरेक देशले आफ्नोतर्फबाट गर्नुपर्ने क्षेत्रीय पहल र वैश्विक मञ्चमा उठान गर्नुपर्ने साझा एजेन्डाका विषयमा थप गृहकार्य गरेर अघि बढ्नुपर्नेमा पनि उहाँहरूबिच सहमति भएको छ। त्यसका लागि बिम्स्टेकको उद्देश्य र कार्यदिशालाई सक्रिय बनाउन आन्तरिक रूपमै पहल जारी राख्नुपर्ने उहाँहरूले प्रस्ट्याउनुभएको छ। बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैङ्कक जानुभएको थियो। 

भारतका विदेशमन्त्रीसँग वार्ता

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करसँग थाइल्यान्डमा द्विपक्षीय वार्ता गर्नुभएको छ। बिम्स्टेक रिट्रिट बैठकको साइडलाइन बैठकका रूपमा उहाँहरूबिच छुट्टै वार्ता भएको हो। सो वार्ता दुई छिमेकी मुलुकका लागि उपलब्धिमूलक रहेको दुवै देशका मन्त्रीले प्रतिक्रिया दिनुभएको छ। परराष्ट्रमन्त्री साउदले विविध पक्षमा भएको वार्ता फलदायी बनेको जानकारी दिनुभयो। 

भारतका विदेशमन्त्री जयशङ्करले भन्नुभयो, “नेपालका विदेशमन्त्रीसँग राम्रो भेटवार्ता भएको छ। हाम्रो नेतृत्वद्वारा निर्धारित सहयोगका एजेन्डा लागु गर्न मिलेर काम गर्ने कुरामा हामीले सहमति जनाएका छौँ।”