• ८ कात्तिक २०८१, बिहिबार

रक्षामन्त्री खड्का र यूएईका राजदूतबीच भेटवार्ता

यूएईका उद्यमीहरू नेपालमा लगानी गर्न इच्छुक

blog

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गर्नुहुँदै नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शम्सी ।

काठमाडौं, साउन १ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग  नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा सोमबार भएको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नेपाल र यूएईबीच असल र नजिकको सम्बन्ध रहेको स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घको सदस्य तथा असंलग्न परराष्ट्र नीतिको पक्षधर रहेका स्मरण गराउनुभयो । 

मन्त्री खड्काले दुवै देशको विश्वव्यापी मुद्दाहरूमा समान धारणा रहेको समेत बताउनुभयो । उहाँले राजदूत अब्दुल्लासँग यूएईले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, ऊर्जा, नवप्रवर्तन लगायत क्षेत्रमा गरेको उल्लेखनीय प्रगति र समृद्धिका लागि बधाई दिनुभयो । मन्त्री खड्काले यूएईले नेपाली नागरिकलाई ठुलो सङ्ख्यामा रोजगारी उपलब्ध गराइरहेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो। 

उक्त अवसरमा राजदूत अब्दुल्लाले यूएईका राजकुमार शेख मोहमेद विन रसिद अल मक्तोमले ‘सन् २०२३ दुबई एयर सो’ मा मन्त्री खड्काको लागि पठाउनुभएको निमन्त्रणा पत्र हस्तान्तरण गर्दै उक्त सोमा सहभागिताको लागि अनुरोध समेत गर्नुभएको छ । 

साथै राजदूत अब्दुल्लाले दुई देशबीच राम्रो सम्बन्ध रहेको कुरा औँल्याउँदै यूएईका उद्यमीहरू नेपालमा लगानी गर्न इच्छुक रहेकोले त्यसका लागि आवश्यक पर्ने द्विपक्षीय सम्झौता गर्ने कार्यलाई छिटो अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले दुई देशका सेनाबीच राम्रो सम्बन्ध रहेको बताउँदै तालिम एवं क्षमता विकास लगायतका क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको धारणा समेत व्यक्त गर्नुभयो। सो अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका सहसचिव लगायत अधिकारीको उपस्थिति रहेको थियो ।