• २८ वैशाख २०८२, आइतबार

पूर्व गोरखा सैनिकको हकको मुद्दा निष्कर्षमा पुर्‍याउन सरकार सकारात्मक छ : मन्त्री बस्नेत

blog

करुण अर्याल

लण्डन, साउन १ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्व गोरखा सैनिकको हक अधिकारका विषयमा उठेका मुद्धाका बारेमा द्विपक्षीय छलफल भइरहेको बताउँदै यसलाई ठोस निष्कर्षमा पुर्‍याउन सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिति बेलायतले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले डायस्पोराबाट देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुगेको चर्चा गर्दै गैर आवासीय नेपालीको मागप्रति सरकार सदैव सकारात्मक रहेको प्रष्ट पार्नुभयो । उहाँले सरकारले सङ्घ अन्तर्गतका १६ वटा अस्पतालमा तीन हजार पाँच सय शय्या निःशुल्क गरेको जानकारी दिँदै सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बिरामीप्रति थप जिम्मेवार र जबाफदेही बनाउन सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभयो । 

समितिका अध्यक्ष युवराज गुरुङले गैर आवासीय नेपालीलाई मतदान सहितको अधिकार दिनुपर्ने माग राख्दै गोरखाको मुद्धाका विषय चाँडो टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा गोरखाको विषयले प्रवेश पाएको चर्चा गर्दै गोरखाको समान पेन्सन र आवासीय अधिकारको विषयलाई काङ्ग्रेसले प्राथमिकतामा राखेको बताउनुभयो ।