• १३ साउन २०८१, आइतबार

दुग्ध किसानलाई दुई रुपियाँ अनुदान

blog

बाबुराम कार्की

वराहक्षेत्र, साउन १ गते । सहकारीमा दुध बेच्ने किसानहरुलाई पशुपन्क्षी तथा मत्सय विकास निर्देशनालयले अनुदान उपलब्ध गराएको छ । निर्देशनालय कोशी प्रदेश विराटनगरले प्रति फ्याट दुई रुपियाँका दरले दुग्ध किसानलाई अनुदान दिएको हो । 

आर्थिक वर्ष ०७९-०८० को बजेटबाट प्रकाशपुर दुग्ध उत्पादक सहकारी संस्था वराहक्षेत्र १० ले २ लाख ५६ हजार लिटरको पाँच लाख १४ हजार, वराह डेरी वडा नं.८ ले एक लाख १० हजार लिटरको दुई लाख २० हजार, मधुप्रकाश दुध उत्पादक सहकारी वडा नं. ११ ले एक लाख ६२ हजारको तीन लाख ४४ हजार, चतरा सममुदायिक बहुउद्देश्य सहकारी संस्था वडा नं. २ ले ६ लाख ६५ हजार लिटरको १३ लाख ३० हजार रकम संस्थामा दुध दिने किसानले पाएका छन् ।

वराहक्षेत्र नगरकै प्रगतिशील दुध उत्पादक सहकारीले एक लाख ७९ हजार ३ सय ६० लिटरको ३ लाख ५८ हजार ७ सय २० रुपियाँ पाएको छ । जिल्लाभरिका १८ वटा दुध सहकारी संस्था छनोटमा परेका संस्थाहरुमा दुध दिने किसानलाई प्रति फ्याट दुई रुपियाँका दरले अनुदान दिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका निम्ति कार्यलय प्रमुख कुमारसिंह खत्रीले जानकारी दिनुभयो ।   

प्रकाशपुर दुध उत्पादक सहकारी संस्थाका अध्यक्ष हुमरजङ्ग बस्नेतले भन्नुभयो, “कृषकलाई अनुदान दिएर राम्रो गरेको छ । यो अनुदान किसानको हात हातमा पुगेको छ ।”

साना दुध किसानलाई समेत यो अनुदानले लाभ पुर्‍याएको उद्योग तथा कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका पशु प्राविधिक युकेश नेपालले बताउनुभयो । अनुदान रकम सानै भए पनि  किसानलाई हौसला मिलेको छ । सहकारीमा दुध बेच्दा अनुदान पाउने भएपछि दुध सहकारीमा किसानको भीड हुन थालेको छ । पशुपालनमा किसानहरुको आकर्षण बढाउन अनुदानले सहयोग पुर्‍याएको नेपालको भनाइ छ । 

संस्थामा दैनिक एक हजार ४ सय लिटर दुध सङ्कलन हुने गरेको संस्थाका कर्मचारी नारायण पौडेलले बताउनुभयो । संस्थाले किसानको दुध प्रति फ्याट ७ रुपियाँ ५१ पैसा र एस.एन.एफ.४ रुपियाँ १२ पैसाले खरिद गर्दै आएको अध्यक्ष हुमरजङ्ग बस्नेतले जानकारी दिनुभयो । 

दुई हजार किसान आबद्ध रहेको दुग्ध सहकारीमा दैनिक ४ सय किसानले संस्थामा दुध बेच्दै आएका छन् ।