• १४ पुस २०८१, आइतबार

क्षितिज जस्तो सम्बन्ध [कथा]

blog

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेको आप्रवास काउन्टर अगाडि उभिएर म गमनपत्र भर्दै थिएँ । एक जना युवकले मेरो छेउमा आएर मसँग कलम मागे । आफ्नो गमन–पत्र भरिसकेर मैले कलम दिन खोज्दा उनले गमनपत्र नै भरिदिन आग्रह गरे । उनीसँग आवश्यक जानकारी लिँदै उनको गमन–पत्र भरेर मैले टाउको उठाउन नपाउँदै मलाई आठ–दसजना अरू युवकले घेरिसकेका थिए । सबैको हातमा गमन–पत्र थियो । उनीहरूका आँखाले मलाई गमनपत्र भरिदिन अनुरोध गरिरहेका थिए । मैले उनीहरूको बाध्यता बुझेँ र उनीहरूको गमनपत्र भरिदिन लागे । ती सबै युवा दुबई र दोहा जान लागेका थिए । सबैको पासपोर्टमा “पर्यटन भिसा” लागेको थियो । पन्ध्र–अठार वर्ष उमेर समूहका देखिने ती युवाको राहदानीमा उमेर पच्चिस वर्षदेखि तिस वर्षसम्म लेखिएको थियो । फारम भर्दै उनीहरूलाई म सोध्दै थिएँ, “घुम्न जान लागेको हो ?” एउटा युवकले केही अकमकिँदै जवाफ दियो, “त्यहाँ गएर काम गर्ने हो ।”

मैले फेरि सोधेँ, “पर्यटन भिसा छ । त्यो पनि छोटो समयको । कसरी काम गर्छौ ?” 

तीमध्ये अलिक टाठो देखिने युवकले जवाफ दियो, “त्यहाँ गएपछि कागज मिलिहाल्छ भनेको छ ।”

 उनीहरूको अनुहारमा पहिले नै केही डराएको जस्तो, कतै हराएको जस्तो भाव थियो । त्यसैले पनि मैले थप प्रश्न सोधिनँ । 

त्यही क्रममा माथिदेखि तलसम्म एउटा कालो बुर्काले छोपिएकी महिला हातमा गमनपत्र लिएर मेरो अगाडि आइपुगिन् । मैले उनको फारम पनि भरिदिएँ । ठ्याक्कै पहाडी भेगको लवज भएकी उनले अनुहार छोपेकी थिइन् । नाम र थर मुस्लिम थियो । उनले फारम फिर्ता लिँदा उनको साथमा पुरुष साथी देखेँ जोसँग उनी नेपाली लवजमा उर्दू मिसिएको हिन्दीमा कुरा गर्दै थिइन् । त्यतिकैमा एउटा प्रहरी आएर उनीहरू दुवै जनालाई अर्कोतिर लग्यो ।  

२०६२/६३ सालको जनआन्दोलन र जनयुद्धको भर्खर टुङ्गो लागेको थियो म अध्ययनका लागि अमेरिका जाँदा । देशबाहिर बसेकै आठ नौ वर्ष भइसकेको थियो । विदेशमा भिजेर त्यहाँको जीवन, सभ्यता र दर्शन बुझ्ने हुटहुटी थियो मभित्र । अमेरिकाको यतिका वर्षको बसाइ, पढाइ र भोगाइले मेरो हुटहुटी मेटिइसकेको थियो । तर दुबई र दोहातिर लागेका युवाहरूको लर्कोले मलाई आफ्नै ठाउँको अवस्था र व्यवस्था बुझ्न एक पटक फेरि झकझक्याएको थियो । मानिस त सबै ठाउँका उस्तै हुन् । आधारभूत आवश्यकता र उत्सुकता पनि सबैको उस्तै हो । अवस्था र व्यवस्थाले न हो फरक बनाउने । २०७१ सालमा अध्ययन सिध्याएर म अमेरिकाबाट नेपाल फर्किएको थिएँ । आएलगत्तै यतिबेला म एउटा यात्रामा निस्किएको थिएँ । मेरा लागि यो यात्रा निकै महत्वको थियो । 

सुरक्षा जाँचका लागि अबेर हुन लागेको देखेर मैले गमनपत्र हातमा लिएर उभिइरहेका युवासँग बिदा लिएँ । 

दोहा जाने फ्लाइटमा बसेर सिटको पेटी बाँधेपछि मैले चैनको सास लिएँ । म स्विडेन जाँदै थिएँ– स्टेलालाई भेट्न । चौध वर्षपछि मेरो भेट हुँदै थियो उनीसँग । २०५७ सालमा म तीन महिना स्विडेन बस्दा उनी मेरो होस्ट–फेमिली थिइन् । उनको परिवार उनी एक्लैको थियो । स्टेलासँग तीन महिना बिताएर छुट्टिने बेलामा उनी मेरो होस्ट फेमिलीको होस्टमदरबाट स्विडिस मदर भइसकेकी थिइन् । 

जहाजले आफ्नो उचाइ र गति लिएपछि मैले सिटबेल्ट फुकालेँ र एअरहोस्टेससँग एउटा रेड वाइन मागेँ ।

स्टेला वाइन पिउदिन थिइन् । वाइन मात्र होइन उनी रक्सी नै पिउदिन थिइन् । उनी एउटा यस्तो संस्थामा काम गर्थिन् जसले रक्सीको लत लागेकाहरूको लत छुटाउन मद्दत गथ्र्यो । त्यही कामको सिलसिलामा उनी पटक पटक केन्यामा पनि बसेकी थिइन् । कुराकानीको प्रसङ्ग सुरु गर्दा उनी भन्ने गर्थिन्, “ह्वेन आई वाज इन केन्या...” उनी भान्सामा खाना पकाउँदै मलाई विभिन्न देशहरू जाँदाको कहानी सुनाउने गर्थिन् । म चिउँडो हातमा अड्याएर उनको कुरा सुन्ने गर्थें । एक पल्ट हामीले एकअर्कालाई आफ्नो कुरा बुझाउन नसक्दा उनले भनेकी थिइन्, “तिमीसँग त मलाई कुरा गर्न केही गाह्रो छैन । म पहिलो पटक केन्या जाँदा एउटी केन्याकै महिलासँग दस दिनको यात्रामा गएको थिएँ । म भर्खर अङ्ग्रेजी बोल्न सिक्दै थिएँ । उनलाई अङ्ग्रेजी ठ्याप्पै नआउने । तर पनि त्यो पूरै दस दिन हामीले कुराकानी गर्न छाडेनौ । सँगै रमाउन र हाँस्न पनि भ्यायौँ । त्यति मात्र हो र ! त्यो दस दिनकै साथले हामी असाध्यै मिल्ने साथी पो भयौँ ।” 

दोस्रो ग्लास वाइन माग्न घण्टी बजाएपछि मैले छेउछाउका सिटमा नजर घुमाउँदै एअरहोस्टेसलाई खोज्न थालेँ । अघि नै तल विमानस्थलमा गमनपत्र भर्दै गर्दा देखिएका केही डराएका, कतै हराएका अनुहार चारैतिर छरिएर बसेका रहेछन् । खानाको ट्रली आउँदै थियो । एअरहोस्टेस यात्रुहरूलाई खाना र ड्रिङ्कको रोजाइ बताउँदै थिइन् । यात्रुले जवाफ दिन नसक्दा एअरहोस्टेसले एउटै कुरा पट पटक, ठुलो आवाजमा सोध्न थालिन् । डराएका अनुहारहरू आत्तिए । 

एअरहोस्टेसलाई काम छिट्छिटो सक्नु थियो होला । उनीहरूको हतार स्वाभाविक थियो । तर उनी यात्रुले नबुझ्ने भाषामा कुरा गर्दै थिइन् । जति पटक दोहो-याए पनि, जति चर्को आवाजमा बोले पनि नबुझिने भाषामा बुझाउन सकिँदैन भन्ने कुरा एअरहोस्टेसले नबुझेको देख्दा मलाई नमज्जा लागिरहेको थियो । त्यो आत्तिएको अनुहारले छेउछाउको सिटमा पल्याकपुलुक हे¥यो । उसले नजिकैको यात्रुको टेबलमा भएको बियरको क्यान एअरहोस्टेसलाई देखायो । आत्तिएको अनुहारले केही राहत पाएको थियो । उसले आफ्नो कुरा बुझाउन सकेको थियो । उसले आफ्नो कुरा बुझाउन सक्ने भाषा भेट्टाएको थियो । एअरहोस्टेसले ग्लासमा बियर खन्याएर ग्लास र क्यान उसको टेबलमा राखिदिएपछि त्यो आत्तिएको अनुहार हँसिलो हुँदै खानाको प्याकेट खोल्नतिर लाग्यो । केही उत्साहित हुँदै उसले बियरको चुस्की लियो । त्यतिन्जेलमा मेरो टेबलमा वाइनको ग्लास आइसकेको थियो । मैले मनमनमै त्यो हँसिलो अनुहारलाई ‘गुड जब’ भन्दै वाइन चियर्स् गरेँ ।

 स्टेला खाना पकाउन असाध्यै रहर गर्थिन् । उत्तिकै रहर गरेर उनी खानाको टेबल पनि सजाउँथिन् । टेबल क्लथ, न्याप्किन, मैनबत्ती, काँटा, चक्कु, प्लेट, ग्लास अवसर अनुसार मिलाएर सजाउँथिन् । मैले कुरैकुरामा कुनै स्विडिस परिकारमा चासो देखाएछु भने एक–दुई दिनमा उनले त्यो परिकार पकाउन भ्याइ सक्थिन् । केन्यामा हुँदा उनले हप्ताको एक दिन आउने जति जम्मैलाई आफैँले प्यानकेक पकाएर खुवाउने नियम बनाएकी रहिछिन् । “खान आउनेको लाम यति लामो हुन्थ्यो कि पकाउँदा पकाउँदै पिठो सक्किएर फेरि किन्न पठाउनुपथ्र्यो ।”

उनले रहर गरेर पकाए जसरी नै खाना खाइसकेपछि म सिनित्त पारेर भान्छा सफा गर्दै थिएँ । उनलाई आफ्नो बढेको भुँडी देखाउँदै मैले भनेँ, “हेर त, तिमीले मिठो–मिठो खाना खुवाएर मेरो भुँडी कत्रो भइसक्यो ?”

उनले रमाइलो भावमा हाँस्दै भनिन्, “तिमी घर पुग्दा तिम्री आमाले तिमी गर्भवती भयौ भन्नेछिन् अब ।”

“त्यसो नभन । त्यस्तो भयो भने त मेरी आमाले मलाई देख्ने बित्तिकै घरबाट निकाल्दिन्छिन्,” मैले भनेँ ।

टेबुलमा हात, हातमा गाला अड्याएर अचम्म मान्दै उनले सोधिन्, “किन ? तिमी गर्भवती भएको तिम्री आमालाई मन पर्दैन र ?”

उनलाई अचम्म लागेको देखेर म उल्टै अचम्ममा परे । उनको अनभिज्ञताले मलाई उत्सुक बनायो । मलाई त्यो सोचले उत्सुक बनाएको थियो जुन सोचका लागि अविवाहित महिला गर्भवती हुनु सामान्य कुरो थियो । हो त नि । म त बेग्लै इतिहास, सभ्यता र संस्कृति बोकेकी महिलासँग कुरा गर्दै थिएँ । 

त्यसबेलाको नेपालको कानुनले अविवाहित आमालाई के अधिकार दिएको थियो, विभिन्न ‘वाद’ हरूले के–के भन्थे, मलाई केही थाहा थिएन । तर त्यो क्षण मलाई स्टेलाको उत्सुकता मेटाउनु थियो । म भाँडा माझ्दै गरेको हात लिएर उनीतिर फर्के र नैतिक मूल्य र मान्यताको गुजुल्टोमा कसरी अविवाहित आमालाई समाज र परिवारले बहिष्कार गर्छ भन्ने जटिल कुरोलाई अठार वर्षको मेरो दिमागले भ्याएसम्म सरल तरिकाले बुझाउने कोसिस गर्दै थिएँ । मेरो कुरा सुनेर उनी कुर्सीबाट उठिन, मेरो नजिकै आइन् र मलाई गमलङ्ग अँगालो हाल्दै भनिन्, “तिमीलाई कहिल्यै त्यस्तो अप्ठ्यारो परिस्थिति आयो भने तिमी मकहाँ आउनु, तिम्री स्विडिस आमाकहाँ ।”

एक्कैछिन आँखा झिमिक्क मात्र लागेथ्यो, सिटबेल्ट लगाउन उठाइदिइहाल्यो । धन्न ओर्लने बेला भइसकेछ । हवाईजहाजको यात्रा मलाई सारै पट्यार लाग्छ । न झ्याल खोलेर बाहिरको हावा चुम्न पाइने, न बिच बिचमा थरीथरीको खानाको स्वाद लिन पाइने । तै समृद्धिको शिखर पछ्याउने दौडमा रहेको एउटा फुर्तिलो घोडा जस्तो सहर दोहा विमानस्थलमा ओर्लिएको थिएँ म । सूर्योदय–सूर्यास्त, आइतबार–सोमबार हरपल घडीको सुईसँगै निरन्तर दौडिरहने यहाँको व्रिmयाकलापमा झ्वाट्ट मलाई ती केही डराएका अनुहारहरूको सम्झना आयो । के सोच्दै होलान उनीहरू ? संसारको यो मायावी स्वरूप देखेर उनीहरू चकित पर्दै होलान् कि दिवास्वप्नमा विचरण गर्दै होलान ? भर्खर बिदा लिएर आएको परिवार, गाउँ सम्झँदै होलान् कि घरजग्गा धितो राखेर लिएको ऋणको तमसुक सम्झँदै होलान् ? कि फर्कने दिन गन्न सुरु गरिसके होलान् ? तर कसरी गन्ने ? उनीहरूलाई आफू कहिले फर्कने पनि त थाहा छैन । सजाय पाएर कारागारमा थुनिएकालाई पनि आफ्नो मुक्तिको दिन थाहा हुन्छ । युद्धमा जान लागेको योद्धालाई राज्यले आत्मबल बढाउन, “तिमी जितेर फर्कनू” भनेर बिदा गर्छ । परिवारले “तिमी जिउँदै फर्कनू” भनी प्रार्थना गरेको हुन्छ । ती डराएका अनुहारलाई ककसले केके भने होलान् ? तिनीहरूको मनोबल अनिश्चितकालका लागि केले धान्न सक्छ होला ? म ट्रान्जिटभित्र छिरेपछि एअरपोर्टभित्रै बरालिन थालेँ ।

स्टेला मेरो तीन महिनाको बसाइ अवधिमा मैले सक्ने जति सबै अनुभव बटुलोस् भन्ने चाहन्थिन् । हामी बस्ने त्यो सानो टाउन यार्पेन स्विडेनको उत्तरी भेगमा पर्दथ्यो । पृथ्वीको उत्तरी गोलाद्र्धमा पर्ने त्यो क्षेत्रमा गर्मीका दिनहरू निकै लामा हुन्छन् र जाडो मौसमका रातहरू पनि अत्यास लाग्ने गरी उत्तिकै लामा हुन्छन् । म जाडो नजिकिँदै गर्दा त्यहाँ पुगेकी थिएँ । जाडोमा त्यहाँ टन्नै हिउँ पर्छ । म हिउँमा आइस स्केट, स्नोबोर्ड, स्नोस्की खेलेर रमाउँदा स्टेला मलाई हेरेर रमाउँथिन् । 

एक दिन उनले भनिन्, भोलि उनी ब्वायफ्रेन्डसँग डिनर–एन्ड–डान्स पार्टीमा जाँदैछिन् । पुतली जस्तै फुरफुर गर्दै अघिल्लो दिन राति नै उनले भोलि लगाउने जुत्ता, लुगा, ब्याग छानेर बाहिर झुन्ड्याएर राखिन् । उनले आफ्नो मनपर्ने रातो लिपस्टिक र रातै नेलपोलिस मलाई देखाइन् । मैले उनलाई नेल–पोलिस लगाइदिएँ । उनको तयारी विशेष थियो । आँखामा देखिएको चमक पनि विशेष थियो । 

साठी वर्षको महिलाको ब्वाइफ्रेन्ड भेट्ने तयारी ! म उनको अनुहारमा मेरो उमेरको चञ्चलता देख्दै थिएँ । पार्टीबाट फर्केपछि पनि उनको अनुहारको चमक कायम नै थियो । मेकअप पुछ्दै उनले मलाई सोधिन्, “तिमीलाई बार क्लब जान, केटाहरू भेट्न मन लाग्दैन ?”

“केटाहरू भेटेर के गर्ने स्टेला ? ब्वाइफ्रेन्ड बनाउने ?” मैले भनेँ ।

उनले भनिन्, “त्यो पनि हुन सक्छ ।”

मैले भनेँ, “म त छिट्टै फर्किनुपर्छ । जाने बेलामा ब्वाइफ्रेन्ड रोयो भने के गर्ने नि ?”

उनले भनिन्, “रोयो भने तिमी फर्केर आउनु अनि यही बस्नु ब्वाइफ्रेन्डसँगै । तिमीलाई स्विडेन मन पर्छ नि होइन ?”

 हामी दुवैका लागि चित्त बुझ्ने जवाफ मसँग थिएन । त्यस बेला मैले मुसुक्क हाँस्दै उनलाई यति मात्र भने, “म यसबारे सोच्दै गरूँला है ?”

उनको आशयको अन्दाज थियो मलाई । उनी म स्विडेनमै बसोस् र पढोस् भन्ने चाहन्थिन् । तर आफ्नो त्यो चाहनालाई उनले मेरा लागि विकल्पका रूपमा मात्र भन्ने गर्थिन् ।

यो दुई तीन घण्टामा मैले एयरपोर्ट ट्रान्जिटका कफी स्टलदेखि पफ्र्युम स्टोरसम्म थुप्रै नेपाली अनुहार भेट्न भ्याएँ । खुसीको कुरा, ती सबै अनुहारहरू न आत्तिएका थिए, न डराएका । कोही भर्खर छुट्टीमा घर बसेर फर्केका थिए भने कोही आउँदो दसैँमा घर जान उत्साहित थिए । मेरो फ्लाइटको समय नजिकिँदै गरेकाले म आफ्नै बोर्डिङ गेटतिर लागेँ ।

एक दिन बे्रकफास्ट टेबलमा म स्टेलाको पुरानो फोटो एल्बमहरू पल्टाउँदै थिएँ । उनले एउटा फोटो देखाउँदै मलाई भनिन्, “यो हेर त, म सोह्र वर्षकी हुँदाको फोटो ।” 

घरी उनको फोटो त घरी उनको अनुहार दुई तीन पटक हेरेपछि मैले भनेँ, “स्टेला, स्विट सिक्स्टिनमा तिमी त हिन्दी फिल्मको स्टार डान्सर हेलन जस्ती रहिछ्यौ ।”

“हो र ?” भन्दै स्टेला मुसुक्क हाँसिन् । “अहिले नि ?”

मैले भनेँ, “अहिले हेलन तिमी जस्तै छ ।” 

उनी खित्का छोडेर हाँस्न थालिन् । उनले फोटोमा भएको अरू व्यक्तिहरू चिनाउँदै गइन् । आमा, सौतेनी बा, सौतेनी भाइ, बहिनी । उनको आमाले बिहे नगरी उनलाई जन्माएकी रहिछन् । उनी दुई वर्षकी हुँदा आमाले बिहे गरेकी रहिछन् । सौतेनी बाले उनलाई मन नपराउने भएर सत्र अठार वर्षमा बिहे गरिदिएछन् । उनी भन्दै गइन्, “मेरो लोग्ने विचित्रको मान्छे थियो । उसका लागि म सधैँ शृङ्गार गरेर, राम्रो लुगा लगाएर, चिटिक्क परेर घरमा बस्नुपर्ने । उसका लागि मिठो–मिठो खानेकुरा बनाउनुपर्ने । मेरो तीन जना छोरा हुर्काउनु थियो । कान्छो छोरा पनि छुट्टै बस्न थालेपछि म त्यो लोग्नेसँग बसिरहनु आवश्यक थिएन ।”

“लोग्ने छोडेपछि तिमीले के ग-यौ ?”

“मैले साथीहरू बनाएँ । जागिर खाएँ । मोटर चलाउन सिकेँ । अङ्ग्रेजी बोल्न सिकेँ । युरोपका विभिन्न देश घुमेँ । अफ्रिका र अमेरिका गएँ । यो हेर त मेरो न्युयोर्कको फोटो ।” 

उनको निर्णयको जटिलतालाई मैले त्यस बखत बुझ्न सकेको थिइन । तर उनी बहादुर महिला हुन् भन्नेमा म अझै विश्वस्त भएको थिएँ । त्यही बहादुर स्टेलालाई म चौध वर्षपछि भेट्न स्विडेन जाँदै थिएँ । 

उहिल्यै म नेपालमै हुँदा उनी साथीहरू बटुलेर नेपाल आउन तम्सिएकी थिइन् । माओवादी जनयुद्ध चर्किएको समय थियो । स्विडिस सरकारले सुरक्षाको खतरा देखाएर आफ्ना नागरिकलाई नेपाल जान रोक लगाएपछि स्टेला नेपाल आउन पाइनन् ।  

म अमेरिकामा हुँदा फोनमा भन्ने गर्थिन्– उनको मुटुमा केही जटिल समस्या छ । उपचारकै लागि उनले त्यो सानो टाउन यार्पेनबाट राजधानी स्टकहोम बसाइँ सरेकी थिइन् । जटिल कुरा मलाई फोनमा सम्झाउन उनलाई अप्ठ्यारो हुन्थ्यो । अङ्ग्रेजीमा बोल्दा बोल्दै उनी स्विडिसमा बोल्न थाल्थिन् । उनको शब्द नबुझे पनि म उनको भाव बुझ्ने कोसिस गर्थें । त्यही मुटुको अवस्थाले गर्दा डाक्टरले उनलाई हवाईयात्रा निषेध गरेको रहेछ । तर ट्रेन र कारमा उनले यात्रा गर्न छाडेकी थिइनन् । उनी मलाई भन्ने गर्थिन्, “म अमेरिका आउन मिल्दैन । तिमी नै यहाँ आऊ न ।” मेरो जाने चाहना हुँदाहुँदै पनि खोइ के नमिल्ने के नमिल्ने ।

एक दिन स्टेलासँग फोनमा कुरा गर्दै थिएँ, बोल्दाबोल्दै उनले रुन्चे आवाजमा भनिन्, “तिमीलाई भेट्नै नपाई मर्ने हो कि म ?”

मैले भनेँ, “स्टेला, तिमी बहादुर महिला हो । बहादुर महिलाको मुटु पनि बलियो हुन्छ । म आउँछु छिट्टै ।” 

फोन राखिसकेपछि धेरै बेरसम्म सम्झिरहेँ स्टेलालाई । युनिभर्सिटीमा मेरो अन्तिम सेमेस्टर चलिरहेको थियो । यसपछि म नेपाल फर्किने योजना त पहिले नै थियो । स्टेलासँग कुरा गरेपछि मैले निर्णय लिएँ, सेमेस्टर सिद्धिने बित्तिकै नेपाल फर्कने र नेपाल फर्कने बित्तिकै मेरो पहिलो काम स्विडेनको भिसा लिने ।

बिहान सबेरै स्टकहोममा ल्यान्ड गरेँ । स्टेलाले मलाई लिन एअरपोर्ट आउँछु भनेकी थिइन् । एयरपोर्टबाट बाहिर निस्किँदै गर्दा मैले उनलाई टाढैबाट देखेर हात हल्लाउँदै बोलाएँ । म उनको नजिकै पुगेपछि मात्र उनले मलाई देखिन् । र आफ्नो पुरानै शैलीमा मलाई गम्लङ्ग अँगालो हालिन् ।   

Author

रुचि श्रेष्ठ