लीलाधर वली
घोराही, असार ३१ गते । रोल्पा रुन्टीगढी गाउँपालिकाका दुई दाजुभाइले सल्लाको खोटो सङ्कलन गर्न जङ्गलमा बास बस्ने गर्नुभएको छ। उहाँहरू खोटो सङ्कलनका लागि दाङको पहाडी बङ्गलाचुली गाउँपालिका–८ को गोगनपानी सामुदायिक वन समूहको रानीवास जङ्गलमा लामो समयदेखि बस्दै आउनुभएको छ।
रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर १, गैरीगाउँ निवासी सुरेश बुढामगर र नवीन बुढामगरले जङ्गलमै पाल टाँगेर गत चैतदेखि खोटो सङ्कलन गर्दै आउनुभएको हो। जङ्गलको छेउमा बस्ने घर नभएको र टाढा बस्दा काममा आउन जान ढिला हुने भएकाले जङ्गलमै बस्नु परेको दाजु सुरेश बुढामगर बताउनुहुन्छ। जङ्गलमा खोटो सङ्कलनको काम गर्दै गर्नुभएका सुरेशले भन्नुभयो, “वर्षाको समय र जङ्गलको ठाउँ भएकाले चिसो र जङ्गली किरा कमिलाको डर हुने गरेको छ तर पनि बाध्यता यस्तै छ।”
उहाँले घरको कमजोर आर्थिक अवस्थाले घरधन्दा चलाउनका लागि काम गर्नुपर्ने बाध्यता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दिउँसोमा उज्यालो हुने भएकाले खासै डर लाग्दैन तर रातको समयमा अँध्यारो हुने भएकाले सबै चिजको डर लाग्छ।” सुरेशले विगत चार वर्षदेखि र नवीनले दुई वर्षदेखि यसरी नै वनजङ्गलमा बसेर खोटो सङ्कलनको काम गर्दै आउनुभएको छ। खोटो सङ्कलन गरेबापत प्रतिक्विन्टल दुई हजार रुपियाँ पाउने गरेको सुरेश बताउनुहुन्छ। उहाँले भन्नुभयो, “हाम्रो तलब निश्चित भन्ने हुँदैन, काम अनुसार पाउने गर्छौं। एक क्विन्टल खोटो सङ्कलन गरेपछि दुई हजार रुपियाँ हुन्छ।” उहाँका अनुसार एक क्विन्टल खोटो सङ्कलनका लागि सरदर दुई दिनसम्म लाग्ने गरेको छ।
विगतमा सल्यान, खोटाङ, रोल्पालगायतका जिल्लामा समेत खोटो सङ्कलनको काम उहाँले गरेको बताउनुभयो। बाहिरी जिल्लामा काम गर्दा घर नजिकै भएका कारण कोठा भाडा लिएर बस्ने गरे पनि अहिले बस्ती टाढा भएकाले जङ्गलमै पाल टाँगेर बस्नुपर्ने बाध्यता भएको उहाँ बताउनुहुन्छ। उहाँ जस्तै जिल्लाका अरू व्यक्ति पनि यसरी रोजगारीका लागि दिनरात जङ्गलमा बसेर खोटो सङ्कलनमा लाग्ने गरेका छन्। सल्लाको रुखबाट चैत वैशाखदेखि मङ्सिर पुस महिनासम्म खोटो सङ्कलन गर्ने गरिन्छ । चिसो मौसममा खोटो कम निस्कने भएकाले खोटो सङ्कलन कार्य बन्द गरिन्छ । बङ्गलाचुली गाउँपालिका वडा नं. ८ का ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहबाट खोटो सङ्कलन गर्ने गरिन्छ भने जिल्लाभर १० वटा सामुदायिक वन समूहबाट खोटो सङ्कलनको काम हुँदै आएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।