देवरामप्रसाद यादव
सप्तरी, असार ३१ गते । सदरमुकाम राजविराजलाई जिल्लाकै मुख्य सीमा नाकासँग जोड्ने मुख्य सडकखण्डमा स्थानीय बासिन्दाले तीन दशकदेखि जग्गा कटानको समस्या झेल्दै आएका छन् तर त्यसको दीर्घकालीन समाधानका उपाय भने अझै भएको छैन।
वर्षायाम सुरु भएसँगै यस सडकखण्ड अन्तर्गत राजविराज भन्सार कार्यालयभन्दा करिब दुई सय मिटर पूर्व सडक कटान हुन थालेपछि गाडी आवतजावतमा रोक लाग्नुको साथै पैदल आवतजावत गर्न पनि अप्ठ्यारो हुने गरेको स्थानीय चन्दन यादवको गुनासो छ। गत वर्ष बाढी आउँदा कटान क्षेत्रबाट नदी पार गर्न खोज्दा स्थानीय दुई जना भासिएर बेपत्ता भएका थिए।
कटानका कारण पूर्वपट्टिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दालाई सदरमुकाम पुग्न अति नै कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन्। “कटान हुन थालेपछि राजविराज पुग्न हनुमाननगरबाट घुमेर जानुपर्ने बाध्यता छ। त्यस्तै राजविराजबाट सिधै गए १० किलोमिटर कम पर्ने बाटो अहिले १० किलोमिटर बढी चक्कर लगाउनुपर्ने विवशता रहेको स्थानीय रमेश यादव बताउनुहुन्छ। भारतबाट कुनौली हुँदै आएका मालवाहक गाडीहरू राजविराज भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही रहेकोले बाटोकै कारण राजस्व सङ्कलनमा कमी पनि हुने गरेको राजविराज भन्सार कार्यालयका प्रमुख रामचन्द्रप्रसाद ढुङ्गानाले बताउनुभयो।
यस वर्ष पनि वर्षाको कारण नदीमा आएको बाढीले सडकमा कटान गरिरहेकोले गाडीहरू उतै रोकिन पुगेको स्थानीय व्यवसायी मुकेश यादवले बताउनुभयो। उहाँले भारतबाट ल्याउने सामान असारदेखि कात्तिकसम्म बन्द नै हुने गरेको कारण भन्सारको राजस्व सङ्कलनमा ह्रास आउने गरेको बताउनुभयो।
नदीले सडक कटान गरेको समस्या तीन दशकभन्दा बढी समयदेखि रहेको तिलाठीकोइलाडी गाउँपालिका–१ का वडाध्यक्ष दिनेश्वर मिश्र बताउनुहुन्छ । सो बाटो भएर बग्ने खाँडो र जिता नदीको बहावको सही रूपले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले स्थानीयवासीलाई सास्ती दिँदै आएको उहाँले बताउनुभयो। हनुमाननगर कङ्कालनी नगरपालिका–१४ का वडाध्यक्ष कृष्णा यादवका अनुसार सम्बन्धित निकायले ध्यान नदिँदा तीन/चार महिना रम्पुरा मलहनियाँ, हनुमाननगर, बनरझुला, भारतीय व्यापारी र पर्यटकलाई समेत सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ। उहाँले नगरपालिकाबाट यस विषयमा सडक विभागलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायको अहिलेसम्म ध्यान नगएको बताउनुभयो।