• १३ साउन २०८१, आइतबार

झापामा चैते धानको उत्पादन घट्यो

blog

विष्णुप्रसाद पोखरेल
दमक, असार ३० गते ।
झापामा चैते धानको उत्पादन र उत्पादकत्व घटेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यन्वयन ईकाइ झापामार्फत चैते धान विस्तार कार्यक्रम सञ्चालित रहेको छ ।

गतवर्ष अर्थात २०७८/०७९ भन्दा २०७९/०८० मा ३ दशमलव ११ प्रतिशतले उत्पादन घटेको परियोजना कार्यन्वयन इकाइका प्रमुख रविन्द्र सुवेदीले बताउनुभयो । दुवै वर्षमा दुई हजार ३६८ हेक्टरमा चैते धान खेती भएको थियो । चैते धानको उत्पादकत्व पनि घटेको सुवेदीले जानकारी दिनु भएको छ ।

‘‘अघिल्लो वर्षभन्दा केही मात्रामा उत्पादकत्व पनि घटेको छ ।’’ उहाँले भन्नुभयो । अघिल्लो वर्ष ८ दशमलव ९६ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेकोमा यो वर्ष ५ दशमलव ७८ प्रतिशत रहेको पाइएको छ । १३ हजार ६८७ मेट्रिक टन चैते धान उत्पादन भएको र यो पटक किसानहरुले सहज बजार तथा राम्रो मूल्य पाएको समेत जनाइएको छ ।

वर्षे धानको उत्पादन र उत्पादकत्व भने बढेको छ । आर्थिक वर्ष २०७९/०८० मा वर्षे धानको उत्पादन अघिल्लो वर्षको तुलनामा १ दशमलव ३७ प्रतिशतले वृद्धि भएको सुवेदीले बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामार्फत झापामा धान सुपरजोन विकास कार्यक्रम सञ्चालित रहेको छ ।

धान सुपरजोन विकास कार्यक्रमको रुपमा आर्थिक बर्ष २०७३/०७४ देखि कचनकवल गाउँपालिका सबै वडा १ देखि ७ र भद्रपुर नगरपालिका वडा नं. १, २ र ३ मा १३ सय हेक्टरबाट सुरुवात भएको थियो । सरकारले यस कार्यक्रममार्फत विशेष गरेर आधुनिक तवरले उत्पादन लागत घटाएर धान खेती गर्न किसानलाई सहजिकरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा थप १४ वटा भद्रपुर, मेचीनगर, अर्जुनधारा, विर्तामोड, कन्काई, शिवसताक्षी, दमक, गौरादह नगरपालिकाहरु र बुद्धशान्ति, हल्दिबारी, बाह्रदशी, कमल, झापा, गौरिगञ्ज गाउँपालिकाहरुमा २०० हेक्टरको कलष्टर नयाँ थप गरी २८ सय हेक्टर गरी जम्मा चार हजार एक सय हेक्टर क्षेत्रफल विस्तार भएको छ ।