काठमाडौं, असार ३० गते । नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आइतबार हुनेछ । पहिलो खेलमा इन्जुरी समयमा गोल गर्दै हार टारेको नेपाल दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा छ ।
बिहीबार भएको खेलमा नेपाल र बङ्गलादेश १–१ गोलको बराबरीमा रोकिएका थिए । बङ्गलादेशले ६५औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । बङ्गलादेशका लागि सविना खातुनले गोल गर्नुभएको थियो । नेपालका लागि सावित्री भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभएको थियो ।
नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।