• १३ साउन २०८१, आइतबार

मौखिक ज्ञानको संरक्षणमा जोड

blog

काठमाडौँ, असार २९ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली परम्परा मौखिक रूपमा मात्र हस्तान्तरण हुँदै आएको ‘मौखिक ज्ञान’ को संरक्षणका लागि पनि पहल हुनुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रिय अभिलेखालयद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अभिलेखालय राज्यको ‘मेमोरी कार्ड’ भएकाले नेपाली जनजिब्रोमै निहित मौखिक परम्परा नासिने, बिर्सने क्रममा रहेकाले सङ्ग्रह र संरक्षणका लागि अभिलेखालयमार्फत पहल गर्नुपर्ने  बताउनुभएको हो । 

मन्त्री किरातीले अभिलेखालयको ५५ औँ वार्षिकोत्सवको अवसरमा  प्रकाशित पुस्तक ‘निर्वाणतन्त्र’ को लोकार्पण गर्दै करिब दुई सय वर्षभन्दा बढीको इतिहास रहेको अभिलेखालयको स्तरोन्नति, दक्ष जनशक्तिलगायतको साधन स्रोतबाट सम्पन्न गराउन आवश्यक रहेको बताउनुभयो । 

सो अवसरमा अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भन्नुभयो, “अभिलेखालय राष्ट्रको  सम्पदाको मस्तिष्क, देश विकासको मापदण्ड मेरुदण्ड नै हो, यसले इतिहासको मात्रै संरक्षण, व्यवस्थापन गर्दैन, वर्तमानमा गरिने महत्वपूर्ण निर्णय, सन्धि सम्झौताको पनि संरक्षण गर्दै देशलाई आवश्यक पर्दा उपलब्ध गराउँछ ।” 

उहाँले सार्वजनिक महत्वका, भविष्यका लागि आवश्यक पर्ने जति पनि सामग्री छन्, ती सबै अभिलेखालयलाई संरक्षणका लागि व्यक्ति, संस्था र राज्यलेसमेत दिन आग्रह गर्दै चाहिएका बेला दुरुस्त उपलब्ध पनि हुने जानकारी दिनुभयो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले राज्यका लागि आवश्यक सूचना लिने, ऐतिहासिक सम्पदाको संरक्षण गरिने अभिलेखालयको महत्व अनुसारको बजेट,  साधन, स्रोत र जनशक्तिको व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।   

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले पुरातत्व र अभिलेखको महत्व निक्कै संवेदनशील छन् भन्दै आगामी दिनमा अभिलेखालयले सामना गर्दै आएको चुनौती र समस्या समाधान हुँदै राम्रो व्यवस्थापनसहित काम गर्न पाइयोस् भन्नुभयो । सो अवसरमा अभिलेखालयका पूर्वकर्मचारीद्वय गृहमानसिं श्रेष्ठ र प्रचण्ड रञ्जितकारलाई सम्मान गरिएको थियो ।

उहाँहरू अवकाशपछि पनि पुनः अभिलेखालयमा कार्यरत हुनुहुन्छ । अभिलेख राख्न दक्ष जनशक्ति उत्पादनका लागि नयाँ कर्मचारीको प्रशिक्षणका लागि पुनः बोलाउन परेको अभिलेखालयले जनाएको छ । साथै लिपि उतार (उतार्ने) को प्रशिक्षणमा सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।