• १२ साउन २०८१, शनिबार

‘विकासे मन्त्रालय पाए सरकारमा जान्छौं, तर टुङ्गो लागेको छैन’

blog

जनमत पार्टीका उपाध्यक्ष तथा पूर्व मन्त्री अब्दुल खान । फाइल तस्बिर

काठमाडौं, असार २८ गते । सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णयसँगै जनमतले पनि सरकारमा जाने तयारी गरिरहेको छ । जनमत पार्टीले गत पुस १० मा बनेको सत्ता गठबन्धनभित्र उद्योग, शहरी विकासजस्ता विकासे मन्त्रालयको माग राखेको थियो । 

पुस ११ गते मन्त्रिपरिषद् विस्तार हुँदा जनमत पार्टीका उपाध्यक्ष एवम् सांसद अब्दुल खान सम्बन्धित मन्त्रालयको जिम्मेवारी पछि तोक्नेगरी मन्त्री नियुक्त हुनुभएको थियो । माघ ३ गतेको मन्त्रिपरिषद् विस्तार हुँदा जनमतले खानेपानी मन्त्रालयको जिम्मेवारी पायो ।

उपाध्यक्ष खानले भन्नुभयो, “त्यो बेलादेखि सरकारले वाचा गरेको थियो । खानेपानी मन्त्रालय सम्हाल्नु त्यस पछाडि फेरबदल भयो भने अर्को मन्त्रालयमा सारौंला भनेर, कुरा भयो तर व्यवहारमा कार्यान्वयन भएन ।”

पार्टीले अपमान र जनताको प्रेसर सहेर बस्नु हुन्न भनेपछि राजीनामा दिएको थिएँ उहाँले बताउनुभयो । पार्टीको माग बमोजिमको सहमति नजुटेपछि गत चैत १७ गते आफूले खानेपानी मन्त्रीबाट राजीनामा दिएको उहाँले स्मरण गर्नुभयो ।  

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संसदमा पारित हुँदा असन्तुष्ट रहेको जनमत पार्टीले  सहयोग गरेन । सत्ता गठबन्धनको असार १८ गते बालुवाटार बैठले जनमतलाई सरकारमा ल्याउने निर्णय गरेको थियो । सोअनुरुप जनमतले पनि सरकारमा जाने तयारी थालेको छ । 

सो पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालयले दिएको जानकारीअनुसार मन्त्रीका लागि अनितादेवी साहको नाम चर्चामा रहे पनि पार्टीले आधिकारिक निर्णय गर्न बाँकी छ । उपाध्यक्ष खानले भन्नुभयो, “मैले पनि बाहिर सुनेको हो । पार्टीले औपचारिक निर्णय गरेको छैन । बैठक नै बसेको छैन ।”

सरकारमा को जाने, कसको नेतृत्वमा जाने भन्ने पार्टीभित्र छलफल भइसकेको छैन ।

उहाँले भन्नुभयो, “सरकारमा को जाने, कसको नेतृत्वमा जाने भन्ने पार्टीभित्र छलफल भइसकेको छैन । गठबन्धन सरकारले जनमतलाई सरकारमा ल्याउने निर्णय गरिसकेको भने सत्य हो ।” मन्त्रालय टुङ्गो लागेपछि यस सम्बन्धमा पार्टीभित्र औपचारिक निर्णय हुने उहाँको भनाइ छ । 

कहिलेसम्म सरकारमा सहभागी हुनुहुन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “सरकारमा जाने तयारी अगाडि बढ्दैगर्दा प्रधानमन्त्री पत्नीको असामयिक निधन भएका कारण केही दिन ढिलो हुने देखिन्छ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको भागमा रहेको मन्त्रालय खाली गरेर भए पनि सरकारमा ल्याउने तयारी गर्नुभएको सुनिएको उहाँले बताउनुभयो ।

जनमतले अहिले पनि विकासे मन्त्रालयको लविङ गरिरहेको उपाध्यक्ष खानको भनाइ छ ।  उहाँले भन्नुभयो, “विकासे मन्त्रालयको दावी हो, बजेटमा पनि केही सच्याउनुपर्ने हुन्छ ।” मधेश प्रदेशमा बिनाविभागीय मन्त्रीहरुको विभाग तोक्नुपर्ने सो दलको अर्को माग छ । 

आफूहरुले माग गरेको मन्त्रालय नेपाली कांग्रेससँग रहेको उहाँको भनाइ छ । “पहिलेदेखि हाम्रो घोषणापत्रको आधारमा हामीले जनतासँग गरेको वाचाको आधारमा उद्योग वा शहरी विकास मन्त्रालय हुनुपर्छ भन्ने हो, ती मन्त्रालय अहिले कांग्रेससँग छ । हामीले पाउने भनेको माओवादीको मन्त्रालय हो ।”

विकासे मन्त्रालयको दावी हो, बजेटमा पनि केही सच्याउनुपर्ने हुन्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफ्नो दलको पक्षमा आउने सम्भावना बढी देखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसका लागि प्रधानमन्त्रीले कांग्रेससँग पनि छलफल गर्दै हुनुहुन्छ ।” 

सरकारमा अनिवार्य जानैपर्ने कारण के हो भन्ने जिज्ञासामा जनताको काम गर्न सरकारमा जानु पर्ने उहाँको भनाइ छ । खानले भन्नुभयो, “बाहिर बसेर जनतालाई सचेत गराउने, सरकारलाई झक्झक्याउने आवाज मात्र उठाउन सकिन्छ । काम गर्नका लागि सरकारमा नगइ हुन्न ।” 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।