• १३ साउन २०८१, आइतबार

वैदिक वाङ्मयले उच्च स्थान दिएको छ नारीलाई

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते  । वैदिक वाङ्मयले नारीलाई उच्च स्थान दिएको वेद अध्यताहरूको निष्कर्ष रहेको छ । वाल्मीकि विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइले काठमाडौँमा बुधबार  आयोजना गरेको ‘वेदमा नारीको स्थान’ विषयक गोष्ठीमा सहभागी अध्यताहरूले यस्तो निष्कर्ष निकाल्नुभएको हो । 

डा. शान्तिकृष्ण अधिकारीको सभापतित्वमा भएको गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै प्राडा प्रमोदवर्धन कौडिन्यायनले वेदमा नारीको उच्च स्थान रहेको बताउनुभएको हो । उहाँको कार्यपत्रमा वेदमा गार्गी, मैत्रेयी जस्ता थुप्रै ब्रह्मचिन्तन तथा शास्त्रार्थ गर्ने ब्रह्मवादिनी देखिएको उल्लेख छ । उहाँ नारीलाई मन्त्रष्ट्री ऋषिका रूपमा वर्णन गरिएको प्रसङ्ग पनि उल्लेख गर्नुहुन्छ । त्यस्तै वेदवेदाङ्ग पढ्ने–पढाउने उपाध्याय–उपाध्यायीको उल्लेख पनि वेदमा भेटिएको छ । उहाँ भन्नुहुन्छ, “वेदमा नारीको विधिसम्मत उपनयन संस्कार (व्रतबन्ध) को विधान पाइन्छ । मातृदेवो भव भनिएपछि मात्र पितृदेवो भव भनिएकाले नारीलाई वेदले अग्रस्थान राखेर विशेष सम्मान दिएको छ ।”

त्यसै गरी माता, गृहिणी, पत्नी, जाया, धर्मपत्नी, अर्धाङ्गिनी जस्ता शब्दको व्युत्पत्तिबाट प्राप्त हुने अर्थले पनि नारीलाई वैदिक वाङ्मयले उच्च स्थान दिएको प्राडा कौडिन्यायनको जिकिर छ । उहाँ विधर्मीले लगाएका आरोप सुनेर तथा पाश्चात्यहरूले गरेका व्याख्या अनुवाद पढेर दोषरहित वेदमाथि लाञ्छना लगाउन नहुने बताउनुहुन्छ । 

उहाँ सती प्रथा वेदमा कहीँकतै नभएको र मिथ्या प्रचार मात्र गरिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नारीलाई सक्षम र सबल बनाउन शास्त्रीय ज्ञान तथा कलाकौशल आदि व्यावहारिक सीप सिकाउने प्रचलन, अविवाहित रहेकी तथा पितामाताको सेवामा रहेकी अनुशासित नारीलाई सम्पत्ति र अंश दिनुपर्ने जस्ता विषय वर्तमान समाजमा समेत उत्तिकै उपयोगी र महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुहुन्छ । कार्यपत्र माथि टिप्पणी गर्दै प्राडा नारायणप्रसाद गौतमले वेद, स्मृति, पुराण आदिमा अनुशासित नारीको महत्व दर्शाइएको चर्चा गर्नुभयो । प्राडा आनन्दप्रसाद घिमिरेले वेदमा रहेका ज्ञानलाई अनुसन्धान गरी समाजसामु पस्कँदै जानुपर्ने आवश्यकतालाई औँल्याउनुभयो  । सहप्राध्यापक डा. नारायण बरालले वेदमा प्रौढ भएपछि मात्र विवाह गर्नुपर्ने विधान भएकाले बालविवाह वेदविरुद्ध रहेको जिकिर गर्नुभयो । कार्यक्रममा विशेष अतिथि डा. विमला शर्माले वेद तथा वैदिक वाङ्मयमा नारीलाई महत्वपूर्ण स्थान तथा मानसम्मान दिएको भए पनि नेपाली समाजले त्यसलाई स्वीकार्न नसक्नु दुःखद भएको बताउनुभयो । 

कार्यक्रममा वाल्मीकि विद्यापीठ प्राचार्य प्राडा भगवत ढकालले वैदिक मन्त्रको उच्चारण मात्रले रोग निवृत्ति तथा पर्यावरण शुद्धि गर्ने सामर्थ रहेकाले अहिले विश्व नै वेद विज्ञानतर्फ आकृष्ट हुँदै गएको चर्चा गर्नुभयो ।