• १४ असार २०८१, शुक्रबार

जन्मसिद्धका आधारमा बारामा ३५ हजारले नयाँ नागरिकता पाउने

blog

नागरिकता लिन लाम लागेका सेवाग्राहीहरु । तस्विर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्रा 

बारा, असार २७ गते । नयाँ नागरिकता ऐन अनुसार बारा जिल्लाबाट करिब ३५ हजार व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन् । जन्मसिद्धको आधारमा यस जिल्लाबाट नागरिकता पाउनेको सङ्ख्या करिब ३५ देखि ३६ हजार हुने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

०६३ सालमा बारा जिल्लाबाट ११ हजार ९३ जनाले जन्मसिद्ध नागरिकता लिएको र यसको आधारमा प्रति एक परिवार ३–४ जना सदस्य मात्रैले नागरिकता लिँदा पनि ३५ हजार बढीले जन्मसिद्ध नागरिकता पाउने आकलन गरिएको उहाँले बताउनुभयो । जन्मसिद्ध नागरिकका सन्तानलाई प्रशासन कार्यालयले असार १० गतेदेखि जन्मसिद्ध नागरिकताको प्रमाण–पत्र वितरण सुरु गरेकोमा हालसम्म छ सय जनाले सो नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

सुरुमा दैनिक ५० वटाको दरले टोकन वितरण गरे पनि पछिल्लो समय दैनिक एक सय वटासम्म वितरण गर्दैै आएकोमा आगामी २ महिनासम्मको लागि टोकन बुक (रिजर्भ) भइसकेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सिमरा, कोल्हवी र सिम्रौनगढ इलाका प्रशासन कार्यालयबाट पनि जन्मसिद्ध नागरिकता वितरण भइरहेको छ । जितपुरसिमरा उपमहानगरपालिका ७ बाट सबैभन्दा धेरै सिफारिस आएको इलाका प्रशासन कार्यालय सिमराले जनाएको छ ।

नागरिकता लिन आउनेहरुमध्ये अधिकांशको बसोबास गरेको जमिनको धनीपुर्जा नभएको, धारा, विद्युत् शुल्क तिरेको रसिद र जग्गा जमिन नभएकाहरु पनि नागरिकता लिन आउने गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो ।

२०६३ सालमा जन्मसिद्ध नागरिकता लिएर पनि नेपालमा बसोबास भएको कुनै प्रमाण नभएकाहरु पनि नागरिकता लिन आउने गरेको छ । नागरिकता विधेयकमा रहेको त्रुटिका कारण धेरै व्यक्तिहरु नागरिकताको प्रमाणपत्र प्राप्त गर्नबाट बञ्चित भएको उहाँले बताउनुभयो ।

अहिलेको विधेयक अनुसार बाबुआमामध्ये एकको नागरिकता नलिई मृत्यु भएका खण्डमा तीनका सन्तान नागरिकता लिनबाट वञ्चित हुनेछन् । यस्तो अवस्थामा नागरिकताको प्रमाणपत्र दिन समस्या भएको र त्यस्ताहरुको हकमा आफूहरुले गृह मन्त्रालयमा पत्र लेखेर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो ।