• ८ जेठ २०८१, मङ्गलबार

नियम विपरीत सञ्चालित सात आयुर्वेद पसलमा तालाबन्दी

blog

नियम विपरीत सञ्चालित आयुर्वेद बन्द गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असार २७ गते ।
तनहुँको सदरमुकाम दमौलीमा नियम विपरित सञ्चालन गरिएका सात वटा आयुर्वेद पसलमा तालबन्दी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले मङ्गलबार गरेको अनुगमनमा मापदण्ड विपरित सञ्चालन गरिएको पाइएपछि ताला लगाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको नेतृत्वमा अनुगमनमा गरिएको थियो ।

ओपिडिसहित सञ्चालनमा रहेका सात वटा पसल बन्द गरिएको व्यास नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले व्यास–२ स्थित रहेको रुक्शल आयुर्वेद फर्माले स्थानीय तहमा दर्ता नगरेको र औषधि पसल दर्ता गरी बिरामीको परीक्षण गर्ने गरेको पाइएपछि सिल गरिएको जानकारी दिनुभयो ।

अधिकृत सुवेदीका अनुसार आरोग्य फार्मेसीले स्थानिय तहमा दर्ता नगरेको, एलोपेथी र होमोपेथी औषधि दुबै बिक्री गरेको, औषधि खुल्ला रूपमा भेटिएको, फार्मेसी मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि बन्द गरिएको छ ।

व्यास–२ गणेशमान चोकस्थित रहेको अनमोल आयुर्वेद स्वास्थ्य क्लिनिकले नवीकरण नगरेको, क्लिनिक मापदण्ड अनुसार नरहेको र एलोपेथी औषधि बिक्री गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले दिनुभएको जानकारी अनुसार उक्त क्लिनिकलाई सिल गरी फार्मेसी मात्र सञ्चालन गर्न दिइएको छ भने एक सातामा पसल नवीकरण गर्न निर्देशन दिइएको छ । व्यास होमियो फार्मेसीमा होमियो फार्मेसी दर्ता भएकोमा क्लिनिक तथा प्रयोगशाला समेत सञ्चालन भएको, ल्याब र क्लिनिक सञ्चालन दर्ता नभएको पाइएको छ । उक्त ल्याब र ओपिडिलाई पनि बन्द गरिएको छ । आयुष होमियो फर्मामा होमियो प्याथि पसल दर्ता चलानी नै नभएको, म्याद सकिएको औषधि फेला परेको, औषधि पसल दर्ता गरी क्लिनिकको रूपमा सञ्चालन गरेको पाइएको छ ।

उक्त पसल पनि बन्द गरिएको छ । व्यास–२ सत्यवती माध्यमिक विद्यालय अगाडि रहेको स्पार्क दमौली अस्पताल स्थानीय तहमा दर्ता नै नभई सञ्चालनमा रहेको पाइएको छ । उक्त अस्पताल पनि बन्द गरिएको छ । प्रकाश आयुर्वेदिकमा आयुर्वेद पसलमा दर्ता गरी एलोपेथिक औषधि  बिक्री गर्ने गरेको, औषधि पसलमा क्लिनिकको सेवा सञ्चालन गरेको र चिकित्सक बिना अनधिकृत व्यक्तिले बिरामी परीक्षण गरेको भेटिएको छ । उक्त पसलबाट एलोपेथी औषधि बरामद गरी सिल गरिएको छ ।

सदरमुकाम दमौलीका अतिरिक्त अन्य बजार क्षेत्रका आयुर्वेद पसलको पनि अनुगमन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. रामप्रबाेध मण्डलले जानकारी दिनुभयो । मण्डलले भन्नुभयो, ‘‘मापदण्ड विपरीत सञ्चालितलाई सुधार गर्न भनिएको छ जिल्लाका सबै आयुर्वेद पसलहरुको अनुगमन गर्दछौं ।’’