• ८ असार २०८१, शनिबार

स्रोत जुटाउनुपर्ने चुनौती छ

blog

नेपाली भाषा र संस्कृतिको उद्गम स्थल, खस सभ्यता केन्द्र र खस राज्यको राजधानी मानिन्छ, जुम्लाको सिँजा । ऐतिहासिक महत्वको सिँजा क्षेत्रमा पर्ने हिमा गाउँपालिका भाषिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धनी छ । १३२.३२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकाको जनसङ्ख्या १२ हजार ६१२  र जनघनत्व प्रतिवर्गकिलोमिटर ८३ जना मात्रै छ । दुर्गम तर प्राकृतिक रूपमा धनी यो गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही राष्ट्रिय गाउँपालिका महासङ्घको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । अध्यक्ष शाहीसँग गोरखापत्रका नेत्र शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :   


अध्यक्षको जिम्मेवारी सम्हालेपछि तपाईंले हासिल गर्नुभएका उपलब्धि के के हुन् ?

हामी आएको १४ महिना भयो । यो अवधिमा धेरै काम भएका छन् । हामीले सुरुदेखि नै ‘ग्रिन रिभर, ग्रिन रोड’ को अवधारणा ल्यायौँ । यस अन्तर्गत हामीले राजमार्ग, नदी क्षेत्र र खाली पाखामा करिब दुई लाख बिरुवा लगाएका छौँ । ‘एक घर एक धारा’ को अवधारणा ल्याएका छौँ । पहिलो चरणमा हिमा–५, बाजागाडामा १३६ घरधुरी र हिमा–६, डाँडावाडामा ७६ घरधुरीमा धारा पु-याएका छौँ । आँखा उपचार केन्द्र स्थापना भएको छ । वर्षा र पहिरोका कारण २०७९ असोजमा अवरुद्ध भएका सबै सडक सञ्चालन ग-यौँ । सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिएका छौँ । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर एक हजार ५७६ जनालाई सेवा दिइएको छ । छुटेका र विपन्नका लागि थपेर निःशुल्क स्वास्थ्य बिमा लागु गरिएको छ ।  हिमाकै सबभन्दा दुर्गम रिखिदेव गाउँमा स्वास्थ्य एकाइ र धाचुगाउँमा आधारभूत एकाइ सुरु गरिएको छ । हिमा–५ बाट सबै बालबालिका विद्यालयको पहुँचमा पु-याउने उद्देश्यसाथ घोषणा कार्यक्रम सुरु गरिएको छ ।  वडा नं. २ बालविवाहविरुद्धको अभियान थालिएको छ । रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बनाइँदै लगिएको छ । गाउँपालिकाका सबै विद्यालयमा सूचना प्रविधिको पहुँचमा पु-याउन इन्टरनेट सेवा प्रदान गरिएको छ । कुलो निर्माण गरिएको छ  । 


भौगोलिक रूपमा विकट छ । स्रोतसाधनको कमी छ । जनताका अपेक्षा कसरी पूरा गर्नुहुन्छ ? 

जनताका अपेक्षा धेरै छन् । भौगोलिक कठिनाइ छ तर स्रोतसाधन थोरै छन् । जनताका अपेक्षा पूरा गर्न धेरै चुनौती छन् । भौगोलिक कठिनाइ भएका र विकासका पूर्वाधार नभएका स्थानीय तहलाई स्रोत र साधन धेरै आवश्यक पर्छ तर प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरेको छ । अनुदान वितरणको प्रणालीले हामीजस्ता स्थानीय तहलाई मर्का परेको छ । अहिलेसम्म कम बजेटले हामीले धेरै काम गर्नुपर्ने अवस्था छ । हामीले सोचे अनुसार काम गर्न नसक्नुको मुख्य कारण भनेकै हामीसँग कम स्रोत साधन हो । बाह्य स्रोतमा मात्रै निर्भर नहुन हामीले आन्तरिक राजस्व बढाउन कृषि, पशुपालन, पर्यटन र जडीबुटीमा बढी जोड दिएर  रोजगारी सिर्जना गर्ने योजना बनाएका छौँ । शिक्षा र आयआर्जनमा जोड दिएका छौँ । 


आफ्नो गाउँपालिकाको क्षमता र आवश्यकतालाई हेरेर थप स्रोतसाधनका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गर्नुभएको होला नि ?

आन्तरिक स्रोतको कमी भएका कारण हामीले बढीभन्दा बढी बाह्य स्रोत जुटाउनुपर्ने चुनौती छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर केही दूरगामी योजना सञ्चालन गरिएको छ । बड्की, बाजागाडा र डाँडाबाडाका ३३६ घरधुरीमा स्वच्छ खानेपानीको धारा पु-याउने लक्ष्य अन्तिम चरणमा छ । अघिल्लो वर्ष २५ करोड रुपियाँ पाएका थियौँ, यो आर्थिक वर्ष २९ करोड रुपियाँ बजेट प्राप्त हुने भएको छ । यस अवधिमा हामीले गाउँपालिका महासङ्घको केन्द्रीय उपाध्यक्ष हुने अवसर पायौँ । यसबाट पनि समन्वय गर्ने अवसर मिल्यो । 


गाउँपालिकाको विकास र समृद्धिका लागि तपाईंका दृष्टिकोण र योजना के छन् ?

हाम्रो प्राथमिकता शिक्षा, स्वास्थ्य, खानेपानी, विपन्नको आयआर्जन, सामाजिक सशक्तीकरण नै हुन् । यसमै केन्द्रित हुने छौँ । कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रलाई आगामी वर्ष १५ शय्याको अस्पताल निर्माण गर्ने लक्ष्य छ । रुपी छहराको पहिचान, पर्यटन पदमार्ग तथा आवश्यक संरचना बनाउने, सडकको गुरुयोजना बनाई प्रदेश र केन्द्र सरकारसँग माग गर्ने, बाढीपहिरोले क्षतिग्रस्त भएका कुलो निर्माण, एक घर एक धारो, वृक्षरोपण गरी ग्रिन रोड, ग्रिन रिभर योजना सफल बनाउने, यहाँका नागरिकको आयस्तर वृद्धि गर्नेलगायतका कार्यक्रम अघि बढाइने छ ।