• १८ कात्तिक २०८२, मङ्गलबार

४२ हजारभन्दा बढीले लिए सामाजिक सुरक्षाको लाभ

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक १८ गते। गुल्मीमा गतवर्ष ४२ हजारभन्दा बढीले सामाजिक सुरक्षाको लाभ लिएका छन्। दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा गत आर्थिक वर्ष २०८१ र ०८२ मा ४२ हजार ६२८ जनाले सामाजिक सुरक्षाको लाभ लिएको पाइएको छ।

जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रमा यहाँका स्थानीय तहले प्रस्तुत गरेको वार्षिक प्रगति अनुसार सो सङ्ख्यामा सामाजिक सुरक्षामा आबद्धता भएका छन्। सामाजिक सुरक्षाबाट लाभ लिनेहरू प्रत्येक वर्ष बढ्दै गएको जिल्लाका स्थानीय तहले जनाएका छन्।

स्थानीय तहका अनुसार ज्येष्ठ नागरिक, एकल महिला, दलित, विधवा, अपाङ्गता भएका व्यक्ति, बालबालिका दलित लगायतलाई समाजिक सुरक्षामा आबद्धता गराइएको छ। सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमले समेटिएको बताइएको छ।

सरकारले आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको हो।

गतवर्ष यस जिल्लाको रेसुङ्गा नगरपालिकामा तीन हजार ८४२ जना र मुसिकोट नगरपालिकामा चार हजार ८०२ जनाले सामाजिक सुरक्षाको लाभ लिएका थिए ।

कालीगण्डकी गाउँपालिकामा तीन हजार १०३, सत्यवती गाउँपालिकामा तीन हजार ७४५, रुरुक्षेत्र गाउँपालिकामा दुई हजार ९६१, चन्द्रकोट गाउँपालिकामा तीन हजार ३०६ जनाले सामाजिक सुरक्षाको लाभ लिएको वार्षिक प्रगतिमा उल्लेख छ।

त्यसैगरी, छत्रकोट गाउँपालिकामा तीन हजार ६५९, गुल्मीदरबार गाउँपालिकामा तीन ३९९, इस्मा गाउँपालिकामा तीन हजार १८४, धुर्कोट गाउँपालिकामा तीन हजार ८३४, मालिका गाउँपालिकामा तीन हजार ७८० र मदाने गाउँपालिकामा तीन हजार ११ जनाले सामाजिक सुरक्षाको लाभ लिएको प्रगतिमा उल्लेख छ।