• १८ कात्तिक २०८२, मङ्गलबार

गण्डकी प्रदेशसभा बैठक आह्वान

blog

अस्थायी रुपमा गण्डकी प्रदेशसभा बैठक बस्न लागेको कृषि मन्त्रालयको सभाहल। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १८ गते। जेनजी आन्दोलनका कारण अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक कात्तिक २४ गते बस्ने भएको छ। सभामुख कृष्णप्रसाद धितालले २४ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो।

भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनमा रहेको हललाई अस्थायी प्रदेशसभा भवन बनाइएको हो। गण्डकी प्रदेशसभा र प्रदेशसभाको सचिवालय आन्दोलनका क्रममा भदौ २४ गतेको आगजनीबाट नष्ट भएका छन्।

जेनजी आन्दोलनपछि असोज १८ गते सभामुख धिताललले असोज २२ गतेलाई बैठक आह्वान गरेकोमा अन्तिम समयमा स्थगित भएको थयो। गण्डकी प्रदेश सरकारका अन्य कार्यालयले सरसफाइ र मर्मत गरी काम आरम्भ गरे पनि प्रदेशसभाका कुनै भवन पनि काम लाग्ने अवस्थामा छैनन्। 

प्रदेशसभाका सचिव गोविन्द पौडेलले संसद बैठक आह्वान भएको आन्तरिक व्यवस्थापन सकिएको जानकारी दिनुभयो। भदौ २५ गतेका लागि तोकिएको बैठक जेनजी आन्दोलनपछि रोकिएको थियो। गण्डकी प्रदेशसभामा अहिले खानी तथा खनिजसम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय ऐनको संशोधन विधेयक छन्। 

सरकारले औषधीय उपयोगका लागि गाँजा खेतीसम्बन्धी विधेयक पनि सदनमा दर्ता गराएको छ।