साहारा लिम्बू
फुङलिङ, कात्तिक १८ गते । ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयलाई साढे पाँच लाख बढीको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ ।
बि.स. २०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीले विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
विद्यालयको जेहेनदार विद्यार्थीको प्रगतिका लागि स्थापित अक्षयकोषमा सोमबार पाँच लाख ५२ हजार ६८१ रुपियाँ हस्तान्तरण भएको भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो ।
उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङ, प्रधानाध्यापक राई र विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष भक्तबहादुर येङदेनलाई भानु जन माविबाट २०४४ सालमा एसएलसी परीक्षामा सामेल भएका विद्यार्थीको समूहबाट प्रदान गरिएको छ ।
अक्षयकोषको रकमबाट भानु माविको कक्षा ९, १०,११ र १२ मा अध्ययनरत उत्कृष्ट तथा जेहेनदार एक छात्र र एक छात्रा गरी जम्मा ४ जनालाई वार्षिक रूपमा विद्यालयको वार्षिक उत्सव वा अभिभावक दिवसको अवसर पारी विद्यालय र अक्षयकोष दाताको उपस्थितिमा छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक राईको भनाइ छ ।
२०४४ सालमा एसएलसी परीक्षामा सामेल भएका विद्यार्थीहरूबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्षलाई रकम हस्तान्तरण गरिँदै ।