• १८ कात्तिक २०८२, मङ्गलबार

साउनयता २९ सवारी दुर्घटना हुँदा सातको मृत्यु, ९५ घाइते

blog

दुर्घटनाग्रस्त जिप । तस्बिरः शङ्कर केसी

शङ्कर केसी

सल्यान, कात्तिक १८ गते । गत साउनयता सल्यानमा २९ वटा सवारी साधन दुर्घटना भएका छन् ।२४ ठाउँमा भएको सडक दुर्घटनामा २९ वटा सवारी साधन परेको र दुर्घटनामा परेर सात जनाले ज्यान गुमाउनुपरेको छ भने ९५ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको तथ्याङ्क अनुसार सवारी दुर्घटनाबाट ५४ जना गम्भीर र ४१ जना सामान्य घाइते भएका छन् । 

विशेषगरी दुई पाङ्ग्रे सवारी साधन बढी दुर्घटनामा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सरोज चौधरीले जानकारी दिनुभयो ।

ट्राफिक नियम पालना र दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन चेकजाँच र नियमविपरीत भएमा कारवाही समेत हुनेगरेको उहाँको भनाई छ । 

चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म ८८१ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्राफिक नियम उल्लङ्घन गर्ने तथा नियमविपरीत चलेका सवारीलाइ कारबाही गर्दा सात लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रमुख चौधरीले जानकारी दिनुभयो ।

प्रहरीले सवारी दुर्घटनाका मुख्य कारण र बढी दुर्घटना हुने क्षेत्र पनि औंल्याएको छ । चालकले तिव्र गतिमा लापरबाही गरेर सवारी चलाउने प्रवृत्ति, साँघुरा, घुम्तीयुक्त, जिर्ण र कच्ची सडकको अवस्था तथा सवारी साधन समयमै मर्मत नगर्ने लापरबाही जस्ता कारणले सवारी साधन दुर्घटना हुने गरेका छन् ।

यसबाहेक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका व्यक्तिहरूलाई अटो साे रुम सञ्चालकहरूले सवारी वितरण गर्ने प्रवृत्ति पनि दुर्घटना वृद्धि गर्ने अर्को कारण रहेको ट्राफिक प्रहरी प्रमुख चौधरीले जानकारी दिनुभयो । 

सल्यानमा कपुरकोट गाउँपालिकाको मुलपानी मोड, चोरखोला क्षेत्र, वनगाड कुपिण्डे नगरपालिकाको देवस्थल क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको रामेखोला क्षेत्र, छत्रेश्वरी गाउँपालिकाको शिव गुफा मोड, शारदा नगरपालिकाको पटनेरी मोड लगायतका स्थानहरू मुख्य दुर्घटना हुने क्षेत्र रहेका छन् ।

ट्राफिक प्रहरीले दुर्घटना घटाउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । 

दुर्घटना स्मरण कार्यक्रम, चालकसँग एक मिनेट संवाद कार्यक्रम, विद्यालयमा ट्राफिक सचेतनामूलक सत्र, पैदलयात्रु र यात्रुहरूलाई सचेतनामूलक अभियान, सडकमा पार्किङ र नो पार्किङ बोर्डहरूको स्थापना, दुर्घटनाग्रस्त क्षेत्रहरूको पहिचान र चेतावनी बोर्डहरू राख्ने जस्ता गतिविधिहरू सञ्चालन गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।