• १८ कात्तिक २०८२, मङ्गलबार

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

blog

कुलबहादुर शाही

जाजरकोट, कात्तिक १८ गते । जिल्लाको कुशे गाउँपालिका–४ मा खोटो सङ्कलन गर्न गएका एक जनाको ढुङ्गा लागेर मृत्यु भएको छ । सोमबार भिउँ कटेरी सामुदायिक वनमा खोटो सङ्कलन गर्न गएका सोही वडाका अन्दाजी ६१ वर्षीय जयबहादुर शाहीको भिरबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको कुशे गाउँपालिका–४ का वडाध्यक्ष निमबहादुर शाहीले जानकारी दिनुभयो । 

‘हिजो खोटो सङ्कलन गर्न जानुभएको रहेछ, साँझसम्म घर नआएपछि खोज्न गयौँ, खोज्दा उहाँलाई मृत अवस्थामा फेला पर्‍याैँ,’ वडाध्यक्ष शाहीले भन्नुभयो, ‘टाउकोमा गम्भीर चोट लागेको र माथिबाट ढुङ्गा खसेको देखिएको छ ।’ उहाँका अनुसार मृतक शाहीको शव घटनास्थलमै रहेको र मुचुल्का गर्ने कार्य बाँकी छ ।

यसैबिच, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको वडाध्यक्ष शाहीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।