• ८ मंसिर २०८१, शनिबार

हातेमालोले बन्यो विद्यालय नमुना

blog

काठमाडौँ, असार २४ गते । नुवाकोटको विकट किस्पाङ गाउँपालिका अन्तर्गत पर्ने काहुलेमा २०४६ सालमा पहिलो पटक विद्यालय खोल्ने विषयमा छलफल हुँदा स्थानीय निकै उत्साही थिए। तर भिरालो बनोटका कारण स्कुल खोल्न उपयुक्त जग्गा अभाव भएपछि उनीहरू केही समय रणभुल्लमा परे। स्कुल स्थापना गर्न थुप्रै ठाउँ अवलोकन भयो तर उपयुक्त जग्गा कतै भेटिएन। 

यहीबिचमा स्थानीय नन्दराम न्यौपाने स्कुलका लागि जग्गादान गर्न तयार हुनुभयो। उहाँले जग्गा दिएपछि २०४६ सालदेखि नै स्कुलमा औपचारिक रूपमा पढाइ सुरु भयो। प्राथमिक तहको पढाइकै लागि पनि डेढ घण्टा हिँडेर छिमेकी गाउँमा पुग्नुपर्ने समस्याबाट गाउँका केटाकेटीले त्यही समयदेखि मुक्ति पाए। स्कुल अभावकै कारण पढ्नबाट वञ्चित विद्यार्थीले आफ्नै गाउँमा पढ्ने अवसर पाए। 

त्यतिखेर प्लास्टिकले बेरेर बनाइएको टहराबाट पढाइ सुरु गरेको यस स्कुलले अहिले भने किस्पाङ मात्रै नभएर जिल्लामै उदाहरणीय शिक्षा दिइरहेको छ। पाँच रोपनी जग्गाबाट स्थापना गरिएको स्कुल ३० रोपनी जग्गामा फैलिएको छ। स्कुलका लागि जग्गा खरिद गर्न पनि शिक्षक र स्थानीयले समेत व्यक्तिगत लगानी गरेका छन्। 

“सरकारले नमुना विद्यालय छनोटसम्बन्धी कार्यक्रम ल्याएपछि हामीलाई पनि नमुना बनाइदिनुप-यो भनेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव ग-यौँ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका जग्गादाता न्यौपानेले भन्नुभयो, “तर नमुना विद्यालयका लागि चाहिने जग्गा स्कुलको नाममा नभएपछि रातारात शिक्षक, कर्मचारी र स्थानीय मिलेर पैसा उठाइयो, अपुग पैसा ऋण लिइयो र जग्गा खरिद गरेपछि प्रमाण पेस गरेपछि मात्रै नमुना स्कुलमा समेटियौँ।” जग्गा खरिद गर्न शिक्षक, स्थानीय राजनीतिक दलसम्बद्ध नेता र अभिभावकसँग लिइएको ऋण चुक्ता गरिसकेको उहाँले बताउनुभयो। 

विद्यालय स्थापनाका लागि पाँच रोपनी जग्गादान गर्नुभएका न्यौपानेले भन्नुभयो, “सुरुमा हामीले छाप्रो ओढाएर नानीहरूलाई पढायौँ। अभिभावक र शिक्षकको निरन्तर सहयोग तथा राज्यको साथ पाएर हामीले अहिले नमुना विद्यालय बनाएका छौँ। विद्यालयको भौतिक र शैक्षिक विकासमा स्थानीय सबै राजनीतिक दल मिलेका कारण यसप्रकारको सफलता हासिल गर्ने आधार बनेको हो।” न्यौपानले भन्नुभयो, “स्कुल स्थापना समयको दुःख सम्झँदा अहिले आँखाबाट आँसु झर्छ। तैपनि त्यति कष्ट गरेर स्थापना गरिएको स्कुल अहिले यो अवस्थामा आएको देख्न पाउँदा आनन्द लाग्छ।” 

यस भेगमा जनजाति र दलित समुदायको बाहुल्य छ। स्कुलमा अहिले नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ हुन्छ। विद्यालयका प्रधानाध्यापक पवन पौडेलका अनुसार प्राविधिक धारतर्फ कक्षा नौदेखि १२ सम्म बालीविज्ञान विषयको पनि पढाइ भइरहेको छ। 

सबै कक्षामा गरेर सात सय विद्यार्थी पढिरहेका छन्। कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन विषय पढाइ हुन्छ। नयाँ भर्नापछि विद्यार्थी सङ्ख्या बढ्ने पौडेलले बताउनुभयो। 

स्कुलले आफ्नै जग्गामा मौसम अनुसारको खेती गरेर आम्दानी गरिरहेको छ। सोही आम्दानीले निजी स्रोतका शिक्षकलाई तलब भत्ता उपलब्ध गराउन मद्दत पुगेको प्रधानाध्यापक पौडेलले बताउनुभयो। टाढाबाट समेत विद्यार्थी आउने हुनाले स्कुलले उनीहरूका लागि निःशुल्क होस्टेल व्यवस्था गरेको छ। 

विद्यालयको स्तरोन्नतिका लागि व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकबिच नियमित बैठक हुने गरेको छ। दुर्गम भेगमा भए पनि प्रशस्त उपकरणसहितको विज्ञान तथा कम्प्युटर प्रयोगशाला हुनु, पुस्तकालयमा पर्याप्त पुस्तक उपलब्ध रहनुलगायत यस स्कुलका विशेषता हुन्। 

भिरालो भू–भागमा रहे पनि स्कुलमा अहिले भौतिक संरचना पर्याप्त छ। व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले भन्नुभयो, “अबको योजना धेरैभन्दा धेरै विद्यार्थीलाई भर्ना गराउने र उनीहरूलाई प्रदान गरिने शिक्षालाई स्तरीय बनाई गरिखान सिकाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ। यसमा शिक्षक, कर्मचारी अभिभावक सबैको एकमत छ।” विद्यालयमा बालीविज्ञान विषयमा कक्षा १२ मा अध्ययनरत प्रसिद्ध न्यौपानेले आफूहरूका लागि उचित प्रयोगशाला र वातावरण रहेको बताउनुभयो। 

सोही कक्षाकी बिमला तामाङले नियमित व्यावहारिक अभ्यास गर्न पाउँदा पढाइमा सहज भएको बताउनुभयो।    

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।