फडिन्द्र अधिकारी
पोखरा, माघ २७ गते। पोखराको महेन्द्रपुलमा रहेको एक बेकरीको केक खाँदा २५ जना बिरामी परेका छन्। माघ २४ गते जन्मदिन मनाउन किनेको केक खाएपछि उनीहरु बिरामी परेका हुन्।
यसबारे गुनासो आएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको संयुक्त टोलीले काठमाडौं बेकरीमा अनुगमन गरेको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले केक खाएकामध्ये एक जनाको आइसियुमा उपचार भइरहेको बाँकीको आकस्मिक कक्षमा उपचार भएको बताउनुभयो।
बिरामीमध्ये अधिकांशमा वान्ता, पखाला, पेट दुख्ने जस्ता समस्या देखिएका थिए। सहायक प्रमुख जिल्ला अधिकारी चितांगत बरालले भन्नुभयो, ‘एक जनाको अवस्था गम्भीर छ। उहाँको पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ।’
मङ्गलबार टोलीले बेकरीको बिक्री कक्षसँगै उत्पादन कक्षसमेत निरीक्षण गरेको छ। अनुगमनका क्रममा बेकरीमा प्रयोग हुने कच्चा पदार्थहरू म्याद गुज्रेको अवस्थामा फेला परेको छ। बरामद गरिएका सामग्रीमा पाँच सय ग्रामका मिक्स फ्रुट र विभिन्न फ्लेभर, पाँच सय ग्राम नरमदा कलर (अखाद्य रङ), पाँच केजी कोको पाउडर, बेकिङ पाउडर तथा अन्य फ्लेभरहरू छन्।
प्रशासनले बेकरी सञ्चालक रोशन महर्जनलाई बुधबार जिल्ला प्रशासन कार्यालयमा कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ। सञ्चालक महर्जन भने आफूहरूले सरसफाइमा ध्यान दिएको दाबी गर्नुभएको छ।