• २८ माघ २०८२, बुधबार

पूर्वाधारमा निजी लगानी ल्याउन नयाँ मोडेलको तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २८ गते । लगानी बोर्ड नेपालले स्विस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित भई पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने भएको छ । 

लगानी बोर्ड नेपालले ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लगानी बोर्डले आह्वान नगरिएका प्रस्ताव पनि अघि बढाउने तयारी गरेको र त्यसका लागि बोर्डले स्विस च्यालेन्ज विधिबाट प्रस्ताव मूल्याङ्कन कार्यविधिको मसौदा तयार पारेको जानकारी दिनुभयो । 

मसौदामा जुनसुकै क्षेत्रमा पनि आह्वान नगरिएको प्रस्तावका रूपमा पेस गर्न सकिने र आएका प्रस्तावलाई प्रतिस्पर्धाका आधारमा अघि बढाउन सकिने उल्लेख छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न तहमा नयाँ नयाँ विषय तथा नवप्रवर्तन भइरहेकाले कार्यविधिबाट व्यवस्थित गर्दा लगानीका क्षेत्रमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।  

त्यसैगरी हाइब्रिड एन्युइटी मोडेलले सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, फोहोर व्यवस्थापन जस्ता ठुला परियोजना छिटो अघि बढाउन, सरकार र निजी क्षेत्रको लागत र जोखिम बाँडफाँट गर्न, गुणस्तरीय निर्माण गर्नलगायतमा सहयोग गर्ने जनाइएको छ । बोर्डले हाइब्रिड एन्युइटी मोडेलसम्बन्धी कार्यविधिको पनि मसौदा तयार पारेको छ । 

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले छ अर्ब रुपियाँ वा सोभन्दा बढी लागत भएका सार्वजनिक निजी साझेदारी (पिपिपी) का सबै परियोजनाको स्वीकृत लगानी बोर्डबाट हुने बताउनुभयो । 

छ अर्ब रुपियाँ वा सोभन्दा माथिका परियोजना बोर्डले स्वीकृत गरे पनि विषयगत विज्ञता र क्षमताका आधारमा कार्यान्वयनका लागि अरू निकायलाई पठाउन सकिने धारणा पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक निजी साझेदारीका परियोजना अघि बढाउन स्थानीय र प्रदेश सरकारलाई पनि लगानी बोर्डले सहयोग गर्ने जानकारी दिनुभयो । 

१६ औँ पन्चवर्षीय योजनाले लिएका राष्ट्रिय लक्ष्य तथा उद्देश्य पूरा गर्न एक खर्ब १२ खर्ब रुपियाँ लगानी गर्नुपर्ने भन्दै उहाँले त्यसमा ७४ खर्ब रुपियाँ निजी क्षेत्रबाट परिचालन गर्नुपर्ने बताउनुभयो । निजी क्षेत्रको लक्ष्य हासिल गर्न निकै ठुलो मेहनत गर्नुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ । लगानी बोर्डले १४ वर्षमा १७ खर्ब १६ अर्ब रुपियाँ बराबरका परियोजना स्वीकृत गरेको छ ।  लगानी बोर्ड नेपालका सहसचिव सुनिता नेपालले स्विस च्यालेन्ज विधिले निजी क्षेत्रको लगानी वृद्धिमा थप सहयोग पु¥याउने बताउनुभयो । 

नेपालका लागि बेलायतको दूतावासका प्रतिनिधि साम फेलले आर्थिक क्षेत्रमा देखा परेको अन्तरलाई कम गर्न र परियोजनाको प्रभावकारी परिणामका लागि सार्वजनिक निजी साझेदारी महत्वपूर्ण भएको बताउनुभयो । 

कार्यक्रममा स्विस च्यालेन्ज विधि, सार्वजनिक निजी साझेदारी र हाइब्रिड एन्युटी मोडेलसम्बन्धी कार्यपत्र प्रस्तुत गरी विज्ञ र सम्बन्धित मन्त्रालय तथा निकायका अधिकारीबिच छलफल गरिएको थियो ।