दोलखा समाचारदाता
दोलखा, माघ २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा एक निर्वाचन क्षेत्रमा दोलखाका मुख्य चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी मनोनयन दर्ता गराएका १४ दलमध्ये नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका अजयबाबु शिवाकोटीलाई जेनजी समूहबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका भीम खड्काले उम्मेदवारी फिर्ता लिएर सघाउन लाग्नुभएको छ । कांग्रेस सच्चिएको र देश बनाउन लागिपर्ने सन्देश लिएर मतदातामाझ भेटघाट कार्यक्रमलाई शिवाकोटीले तीव्रता दिनुभएको छ । एमालेबाट नेता पार्वत गुरुङ प्रतिस्पर्धी देखिनुभएको छ । उहाँ गत २०७४ को निर्वाचनमा विजय हासिल गरी सञ्चार तथा सूचनामन्त्री बनिसक्नुभएको छ । बलियो सङ्गठन रहेकाले जित हासिल पार्ने भन्दै उहाँ मतदातासँग भेटघाटमा व्यस्त रहनुभएको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रखर वक्ता युवानेता विशाल खड्का पनि अर्का प्रतिस्पर्धी हुनुहुन्छ । उहाँले २०७४ मा बागमती प्रदेश सदस्यको निर्वाचनमा विजयी भई वन तथा वातावरणमन्त्रीको पद समालिसक्नुभएको छ । २०७९ सालको निर्वाचनमा पनि तत्कालीन माओवादी नेता गङ्गाबहादुर कार्कीले विजयी हुनुभएको थियो । त्यही विरासत ब्युँताउने दाउमा भेटघाटमा लागिरहनुभएको छ । त्यस्तै रास्वपाबाट गत २०७९ को निर्वाचनमा पराजित हुनुभएका जगदीश खरेल पनि प्रतिस्पर्धी हुनुहुन्छ । राजनीतिक दलमा समसामयिक परिवर्तन र देश परिवर्तन गर्न पार्टी लागिपरेको सन्देश दिँदै मतदाताबिच भेटघाटमा उम्मेदवार लागेका छन् ।
आचारसंहिताको पालना गर्दै दलहरू अहिले गाउँमा परेका व्रतबन्ध, विवाह, धार्मिक कार्यक्रममा सहभागी भएर भेटघाट गरी भोट माग्ने काम गरिरहेका छन् । अरू दलले घोषणापत्र आएपछि मात्र चुनाव प्रचारप्रसारमा जाने बताएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसना पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय परिवर्तन पार्टी, श्रम संस्कृति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) उज्यालो नेपाल पार्टी र आमजनता पार्टी (एकल चुनाव चिह्न) का उम्मेदवार चुनावी मैदानमा छन् ।
दलभन्दा बढी सङ्ख्या १९ जना स्वतन्त्र उम्मेदवार छन् । कतिपय स्वतन्त्र उम्मेदवारले आस्थाका आधारमा पार्टीलाई सघाउने जनाएका छन् । तीन जना स्वतन्त्रसहित चार जना महिला उम्मेदवार छन् । यस जिल्लामा ९५ मतदान स्थल र २०७ मतदान केन्द्र रहेको छ । प्रतिनिधि सभा निर्वाचनमा यस जिल्लामा ८३ हजार १६० महिलासहित एक लाख ७० हजार ३२१ मतदाता रहेका छन् ।