• २८ माघ २०८२, बुधबार

द्रुतमार्गमा काम गर्ने मजदुरको मृत्यु

blog

दुर्घटना भएको घटनास्थल । तस्बिरः अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, माघ २८ गते ।
मकवानपुरको भीमफेदी–८, महादेवटार छोक्रेडाँडामा निर्माणधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) मा खाडल खन्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ ।

१ नम्बर पुलको खाडल खन्ने क्रममा काम सकेर खाल्डोबाट टुचनमा बसेर आउने क्रममा मङ्गलबार साँझ टुचन मेसिनको ब्रेक फेल भई २१ मिटर तल खस्दा सिन्धुपाल्चोक पाँचपोखरी-५, थाङपाल घर भई फास्ट ट्रयाकमा कार्यरत २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँचपोखरी थाङपाल–६ का ३७ वर्षीय जुल्फे तामाङलाई माथिबाट खसेको टुचनले ढाडमा लागेर घाइते भएको अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ ।

इलाका प्रहरी कार्यालय ठिङ्गन, मकवानपुरबाट प्रहरी नायब निरीक्षक राजन थापाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राखी कानुनी प्रक्रिया तथा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।