• ९ जेठ २०८१, बुधबार

मगज (कविता)

blog

अल्फ्रेड नोबेल महोदयका 

महान् प्रयोगशालामा 

सबैले महसुस गर्ने गरी 

राखिएको छ, एउटा रहस्यपूर्ण वस्तु 

आधा पाउको पदार्थ, 


जो केहीबेर क्रियाशील भयो भने 

ठुलै उथलपुथल 

हङ्गामा–तमासा 

वा आतङ्क मच्चाउने गर्छ, 

उदास निष्क्रिय बस्यो भने 

ठप्प हुन्छ विकासवादको, सबै मोडल,


अहिले अन्योलपूर्ण स्थितिमा 

धेरै कुरा हेर्न बाँकी छ, 


ट्रेलरमा छ

जस्तो कि, पदार्थ भनिएको 

कौतुकमय पिण्ड, 


अनुमान गर्नुहोस् 

यसले निर्माण–विनिर्माण, 

आत्मरक्षा–प्रतिरक्षा

स्वाधीनता–पराधीनता 

जे जेका समर्थन विमतिविरुद्ध 

कुनै नवीन चमत्कार गर्न सक्छ, 


उधुमले

आफ्नै वास्तुकलाका निषेधमा 

अमूक भेरोसेल 

जब उत्पादन गर्न थाल्छ ।