• १३ साउन २०८१, आइतबार

प्रज्ञा–प्रतिष्ठानमा उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौतीको चर्चा

blog

काठमाडौँ, असार २१ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा. अम्बिका अर्यालद्वारा लिखित ‘उत्तरवर्ती उपन्यास  प्रवृत्ति र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीको प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभयो ।

समालोचक डा. अम्बिका अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उत्तरवर्ती उपन्यासबाट प्रस्फुटित नारीवादी चेतना, जनजातिमा आएको चेतना, वर्गीय विभेद, जातीय छुवाछुत, सांस्कृतिक विविधता, मधेसी चेतनाको सौन्दर्य, विधाभञ्जन तथा विधामिश्रण  आञ्चलिकता, महामारी र प्रलय, जनजातिको चेतना, सूत्रात्मक, दृष्टिकोण विन्दुकोस्थानान्तरण, स्वैरकाल्पनिक, मार्क्सवादी र नवमार्क्सवादी चिन्तनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

यसैगरी कार्यपत्रमा उपन्यास लेखनको बढ्दो चुनौति भूमण्डलीकरण, सञ्चार तथा सूचना प्रविधि, पहिचानका बारेमा सजगता अपनाउँदै उपन्यास लेख्नुपर्ने र एकपक्षले  उपन्यास लेख्दा अर्को पक्षलाई चोट पुग्नु नहुने, अधिकारको खोजीमा देश, स्वत्व र पहिचान, भौगोलिक विभेद स्थानीयता, मार्क्सवादी उपन्यासमा देखिएको विचलन, सौन्दर्य, कुरूपता, भर्चुल संसारबारे उपन्यास लेखिनुपर्ने थप धारणा राख्नुभयो । 

यस्तै नेपाली उपन्यासको मौलिकता र राष्ट्रियतालाई ओझेलमा नपारी उदासिनताबारे पनि उपन्यास लेख्न सक्नुपर्ने कार्यपत्र प्रस्तोता डा.अम्बिका अर्यालले बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले अध्ययनको सजिलोका लागि उत्तरवर्ती चरण भनिए पनि यसका बारेमा थप  बहस गर्न सकिने बताउनुभयो ।  

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरीले उपन्यास लेखनको उत्तरवर्ती चरण, प्रवृत्ति, परिघटना र वर्गीकरणका आधारहरू स्पष्ट हुनुपर्ने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान नेपाली (अगिव) ले नेपाली उपन्यासमा देखिएका अनेकौँ प्रवृत्तिको चरणबद्ध अध्ययन र अनुसन्धान हुनुपर्ने बताउनुभयो । परिषद् सदस्य प्रकाश तिवारीले उपन्यासकारले अरूका कुरापनि भन्न सक्ने र आवाजविहीनका आवाजलाई पनि बोक्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो । 

यस्तै कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा डा.मोहनप्रसाद लोहनीले उपन्यासको उत्तरवर्ती क्षेत्र असीमित छ, तापनि नेपाली उपन्यासले समाजका विषयलाई चासो दिएपनि  समसामयिकतामा केही उदासिनता राखेको छ भन्नुभयो ।

कार्यक्रमका वामदेव अधिकारी, षडानन्द पौडेल, यज्ञेश्वर निरौला, सरोजदिलु विश्वकर्मा, डा.जीवन श्रेष्ठ र प्रा डा. राजनप्रसाद पोखरेलले नेपाली साहित्यका उत्कृष्ट कृतिको अनुवाद गरेर विश्व बजारमा लैजानुपर्ने धारणा राख्नुभएको थियो ।