• ४ असार २०८२, बुधबार

मेलम्ची खानेपानी बर्खामा पनि

blog

खानेपानीमन्त्री प्रदीप यादव मेलम्ची खानेपानी आयोजना निरीक्षणक्रममा । तस्बिर : गोरखापत्र

काठमाडौँ, असार ४ गते । बर्खायाममा समेत काठमाडौँमा नियमित पानी वितरणका लागि मेलम्चीको दायाँपट्टि रहेको रिबर्माखोलामा नयाँ ‘हेडवक्र्स’ लगायतका संरचना निर्माण गरिएको छ । त्यहाँबाट पानी ल्याउन आयोजनाको मुख्य सुरुङसम्म दुई वटा पाइप पनि जडान गरिएको हो ।

नयाँ संरचनाको परीक्षणसमेत भइसकेको छ । खानेपानीमन्त्री प्रदीप यादव, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलगायत मन्त्रालय र समितिका पदाधिकारीले निर्माण गरिएको नयाँ संरचनाको मङ्गलबार निरीक्षण गर्नुका साथै रिबर्माखोलाको पानी सुरुङसम्म ल्याउने कार्यको शुभारम्भ गर्नुभयो । रिबर्माखोलाको १० हजार लिटर पानी सुरुङमार्गमा झारिएको छ ।

शुभारम्भसँगै हिउँदमा मात्रै आउने मेलम्ची खानेपानी अब बर्खामा पनि आउने सुनिश्चित भएको छ । बर्खामा अहिलेको तुलनामा पानी केही कम हुन सक्छ तर विगतका वर्षमा जस्तो पानी पूर्ण रूपमा बन्द हुँदैन । २०७८ असार १ गते मेलम्चीखोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्ण रूपले क्षतिग्रस्त भएदेखि हिउँदमा मात्रै मेलम्चीको पानी वितरण हुँदै आएको थियो । खानेपानीमन्त्री यादवले बर्खायाममा पनि मेलम्चीको पानी अविरल रूपमा काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने निर्णय गरिएको र सोही अनुरूप रिबर्माखोलाको पानी मेलम्ची सुरुङमार्गमा प्रवाह गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अबदेखि काठमाडौँवासीले वर्षभरि मेलम्चीको पानी नियमित रूपमा पाउने छन्, जुन सबैको साझा चाहना, सङ्घर्ष र धैर्यको फल हो । हामी सबैको साझा प्रयास र प्रतिबद्धताले मेलम्ची आयोजनाले सार्थकता पाएको छ । अबको यात्रामा पनि सबैको साथ, विश्वास र मार्गदर्शन आवश्यक हुने छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लामिछाने भन्नुभयो, “रिबर्माखोलाको पानी ल्याउन ‘हेडवक्र्स’ बाट चार सय एम÷एमको करिब एक सय मिटर लामो दुई वटा पाइप सुरुङसम्म जडान गरिएको छ ।” मेलम्ची खानेपानी आयोजनाको प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार अब मेलम्चीखोलामा धमिलो पानी बग्नेबित्तिकै पानी पथान्तरण बन्द गरिन्छ र रिबर्माखोलाको पानी सुरुङमा पठाइने छ । उहाँले भन्नुभयो, “त्यही पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधित भएपछि त्यहाँबाट थोक वितरण प्रणालीमा पठाउँछौँ र सोही पानी काठमाडौँमा वितरण हुन्छ ।” 

रिबर्माखोलाको पानी पथान्तरणका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना तयार भइसकेको बताउँदै उहाँले अहिले रिबर्माखोलाको पानी सुरुङमार्फत सुन्दरीजल प्रशोधन केन्द्रसम्म पथान्तरणको सफल परीक्षण गरिएको छ । यो वर्ष बर्खायाममा कुनै क्षति नपुगोस् भनेर पूर्वतयारीमा विशेष ध्यान दिइएको उहाँको भनाइ छ ।