काठमाडौँ, असार ४ गते । सङ्घीय सरकारका निकाय र स्थानीय सरकारबिच समन्वय नहुँदा काठमाडौँ उपत्यकाको चोभारस्थित गल्छीमा थुप्रिएको माटो, बालुवा, ढुङ्गासहित गेग्रान हटाउन ढिलाइ भएको छ । काठमाडौँ कीर्तिपुर वडा नं. ६ र ललितपुर महानगरपालिका वडा नं. १८ स्थित बागमती नदी बहाव क्षेत्रमा थुप्रिएको गेग्रान व्यवस्थापनमा अलमल भएको हो ।
२०८१ असोज १० देखि १३ गतेसम्मको भीषण वर्षा र बाढीले लगेको ठुला ढुङ्गा, लेदो र बलौटे माटो चोभार गल्छीको मुखैमा ठोस भएर बसेको छ । वर्षा र बाढी आएको बेला माथिबाट पहिरो खस्ने र त्यहाँ रुख अड्किए काठमाडौँ डुबानमा पर्न सक्ने चिन्ता छ ।
वर्षा र बाढी सुरु भए पनि सहरी विकास मन्त्रालय अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, ललितपुर महानगरसँग कीर्तिपुर नगरपालिकाको कुरा नमिल्दा गल्छी आसपासको बागमती बहाव क्षेत्रको अवरोध कायमै छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जेठ १४ गते सम्पन्न बैठकले ‘चोभार गल्छी साँघुरो भई २०८१ असोज १० देखि १३ गतेसम्म परेको वर्षाका कारण बागमती नदीमा पानीको सतह बढ्न गई काठमाडौँ उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायतका भूभागमा डुबान भएको हुँदा पुनः उक्त प्रकारको क्षति हुन नदिन नेपाली सेनाबाट सहयोग लिई चोभार गल्छीमा रहेको अवरोध हटाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने’ निर्णय गरेको थियो तर कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोल र उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ऐतिहासिक र पुरातात्त्विक महत्वको चोभार गल्छी ‘साँघुरो भएको’ भन्ने विषय गलत भएको तर्क गर्दै अध्ययनबिना खोल्न नदिइने बताउनुहुन्छ ।
प्रमुख डङ्गोलले भन्नुभयो, “चोभार गल्छीका सम्बन्धमा चर्चा सुनेको हुँ तर औपचारिक रूपमा सम्बन्धित निकायबाट कुनै पत्र वा जानकारी आएको छैन । समन्वयबिना चोभारको गल्छीमा कुनै काम अघि बढाउन सकिँदैन ।”
उपप्रमुख शाक्यले पनि चोभारको गल्छी खोल्ने भनेर भइरहेको चर्चापछि स्थानीयले आपत्ति व्यक्त गरेको बताउँदै स्थानीय तहसँग समन्वय र पुरातात्त्विक अध्ययनबिना कुनै काम अघि बढाइए स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
‘गेग्रान हटाउने भनेका हौँ’
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चोभारको गल्छी खोल्ने नभनेको प्रस्ट पार्दै त्यहाँ थुप्रिएको माटो, बालुवा र ढुङ्गा हटाउने तयारी भएको जनाएको छ । समितिका आयोजना उपनिर्देशक एवं सूचना अधिकारी उद्धव नेपाल र प्राधिकरणका उपसचिव एवं प्रवक्ता रामबहादुर केसीले चोभार गल्छीमा रहेको गेग्रान हटाइने बताउनुभयो ।
उपनिर्देशक नेपालले भन्नुभयो, “गेग्रान, ढुङ्गा र माटो हटाउनका लागि ललितपुर महानगर वडा नं. १८ ले निवेदन दिएको छ । त्यसका लागि सिमानामा रहेकाले कीर्तिपुरको सहमति चाहिन्छ । त्यसकारण विपत् जोखिम आकलन गरेर व्यवस्थापनका लागि प्राधिकरणसँग समन्वय थालिएको हो ।”
उहाँका अनुसार ढुङ्गासहितको गेग्रान हटाउने सन्दर्भमा नेपाली सेनाको सहयोग लिने र भूगर्भ विभागका भूगर्भविद्सहितको टोलीले स्थलगत अध्ययन पनि गरेको छ । उहाँले भन्नुभयो, “वर्षा सुरु भएको छ । त्यसैले छिट्टै व्यवस्थापन गर्नु पर्छ । त्यहाँ अहिले पनि पानी जमेको छ । बाढी आएको बेला त्यहाँ रुख अड्किएमा पनि काठमाडौँमा डुबानको गम्भीर अवस्था हुन सक्छ । सेनाको निर्णयको प्रतीक्षामा हामी छौँ ।”
ललितपुर महानगरपालिका वडा नं. १८ का अध्यक्ष दामोदर खड्काले जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित सरोकारवालाले स्थलगत अध्ययन गरिसकेको र अब चोभारको गल्छीको माथिल्लो भागमा थुप्रिएका ढुङ्गा हटाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चट्टान फुटेर अड्किएका छन् । ती नहटाए जोखिमपूर्ण हुन्छ । सरकारको ध्यान जाओस् ।”
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                