• १३ साउन २०८१, आइतबार

अजेय जनता

blog

जनता नै देवता हुन् पुज्य सुनका थाली 

जनता नै मालिक हुन् धरतीका माली 

जनताको आँगन पिँढी दुर्दम्भीलाई हैन 

जनतालाई जित्न सक्ने ताकत कुनै छैन

।।१।।

जनताकै जीवन धन हो मुक्तिधाम खास 

जनताकै ढुकढुकीमा ईश गर्छन् बास 

जनताले छाडिदिए धरती÷ आकाश खाली 

जनताकै विश्वासमा फल्छन् अमृत बाली

।।२।।

जनताले पुजे भने पत्थर हीरा बन्छ 

जनताकै हृदयमा अविनाशी धन छ 

जनतालाई हेप्ने÷ चेप्ने हुन्छन् ज्युँदा लास 

जनताको पिरतीले हट्छन् सारा त्राश

।।३।।

जनताको मान–सम्मान अजम्बरी पूजा 

जनताको साथ छुट्ने हुन्छन् धुजाधुजा 

जनता नै घाम अनि अन्धकारका जून 

जनता नै आशा अनि उत्साहका धून

।।४।।

जनता नै आविष्कार हुन् उन्नतिको बाटो 

जनताकै शक्ति हो यो अजर अमर माटो 

जनताको हृदयमा बास पाउने महान् 

जनताको प्रित पाउने ईश्वरका जहान्

।।५।।

जनता नै समृद्धि हुन् शिखरका धुरी 

जनताको शक्ति जुटे धर्ती स्वर्गपुरी 

जनताको बुद्धि बुता शक्ति राष्ट्र चुरो 

जनता नै जागृतिको मियो थाम्ने सुरो

।।६।।

जनताको फाँट अग्लो विश्व झलमल 

जनताकै साथ हुन्छन् आत्मा पलपल 

जनताको क्षितिज खुल्दा जून गुनगुनाउँछन् 

जनताकै आँगनीमा घाम छुनमुनाउँछन्

।।७।।

जनताको साथ मिठो अजम्बरी फल 

जनताकै साथ बग्छन् सञ्जीवनी जल 

जनताले पूजा गरे देउता बन्छ ढुङ्गो

जनताकै अभिमतले लाग्छ युगको टुङ्गो

।।८।।

जनता नै सागर हुन् जनता नै भोला 

जनताकै लामलहर अस्तिŒव यो चोला

जनता नै आकाश हुन् जनता नै धर्ती 

जनताले बनाउँछन् सृष्टि उर्वर पर्ती

।।९।।

जनता नै राम डाक्छन्  जनता नै बुद्ध 

जनताको सङ्घले मात्र सृष्टि हुन्छ शुद्ध 

जनता नै कृष्ण पुज्छन् जनता नै कंश 

जनता नै जगतका अस्मिताको अंश

।।१०।।

जनता नै खोला बन्छन् जनता नै पानी 

जनताले जस्तो रोज्छन् त्यस्तै जिन्दगानी 

जनताको चाहना नै जीवनको मोड 

जनताले बिर्संदैनन् अन्यायको तोड

।।११।।

जनता नै गौरव र इज्जतका तारा 

जनताको फैलावटले विश्व ढाक्छ सारा 

जनताको यश–कीर्ति जगतको भलो

जनताको उत्साह नै मुलुक थाम्ने बलो

।।१२।।

जनता नै सागर हुन् जनता नै शिखर

जनताको ठम्याइ नै सत्य–न्याय निखर

जनताको आकाङ्क्षा नै उद्देश्यको धाम

जनताकै मुस्कान भर्न आउँछन् दिव्य घाम

।।१३।।

जनता नै अजेय छन् हर्ने हर्दम भय

जनताकै हुनुपर्छ सधैँ जय जय

जनताको जयमा नै दूर हुन्छ भय 

जनताकै गर्नुपर्छ पुकार जय जय !! 

रारामा