• ३२ जेठ २०८१, शुक्रबार

समुन्नत रेसुङ्गा निर्माणमा लागिपरेका छौँ

blog

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाका १४ वडा छन्। यहाँको जनसङ्ख्या ३१ हजार ६७७ रहेको छ। कृषि, पर्यटनलगायतको क्षेत्रको विकासका धेरै सम्भावना भए पनि गति लिन सकेको छैन। स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएर खिलध्वज पन्थीले नगर प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएको छ। निर्वाचित जनप्रतिनिधिले एक वर्ष कार्यकाल पूरा गरिसकेको सन्दर्भमा नगरको विकास र भावी कार्यक्रमबारे नगर प्रमुख पन्थीसँग गोरखापत्रका तिलाचन पाण्डेले गर्नुभएको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :  

तपाईंहरू निर्वाचित भएको एक वर्ष पूरा भइसकेको छ। यो एक वर्षको अवधिमा के के काम भए ?

एक वर्षको अवधिमा हामीले धेरै नयाँ काम अगाडि बढाएका छौँ। नगरलाई सुन्दर र हराभरा बनाउन पुराना र जीर्ण बनेका विद्युतका पोल र तार व्यवस्थित गर्न ११ मिटरका नयाँ पोल राखी तार प्रतिस्थापन गरी व्यवस्थित गरिएको छ। तम्घास बजारको सडकलाई चौडा पारी सडकलाई पुनः कालोपत्रे गरेर सकिएको छ। यसले गर्दा सडकमा हुने सवारी जाम घटेको छ र पैदल यात्रीलाई समेत सहज भएको छ। गुल्मी जिल्लामा कुनै पनि सभा सम्मेलनका लागि ठुलो सभा हल नभएको महसुस गर्दै वडा नं. ४ मा एक हजार क्षमताको सभा हल निर्माणाधीन अवस्थामा छ। सभा हलको निर्माणपश्चात् सभा सम्मेलनका लागि धेरै सहज हुनेछ। नगरका १२ वटा मुख्य सडकको स्तरोन्नति गर्ने कार्य अगाडि बढेको छ। सालझन्डी, दुर्गाफाँट, पटौटी, राङ्वा, सिमीचौर सडक निर्माणको निरन्तर अनुगमन गरिएको छ। 

एक आर्थिक वर्ष पूरा भएको अवस्थामा तपाईंहरूको मूल्याङ्कन पनि हुन थालेको छ। निर्वाचनमा गरेका प्रतिबद्धता कति सम्बोधन गर्नुभयो ?

निर्वाचन लडेको मलाई हिजो जस्तै लाग्छ। निर्वाचनमा गरेका रेसुङ्गाका सात रङ– शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग वाणिज्य तथा रोजगार, सहरी विकास तथा विपत् र खानेपानी, सिँचाइ तथा सरसफाइ जस्ता धेरै प्रतिबद्धता पूरा गर्नेतर्फ अगाडि बढेका छौँ। आवश्यकताको आधारमा हामीले हाम्रा योजनालाई कार्यान्वयनको प्रक्रियामा लगेका छौँ। 

नगरको आवश्यकता र जनताको अपेक्षा पूरा गर्न स्रोत साधनको कमी हुन्छ होला। काम कसरी अगाडि बढाउनुहुन्छ ?

मेरै कार्यकालमा नगरलाई समृद्ध अनि समुन्नत बनाउने सपनालाई साकार पार्न दिनरात नभनी खटिएका छौँ। यस कार्यमा सबै जनप्रतिनिधि र नगरवासीका साथ र सहयोग रहेकाले सपना पूरा हुनेमा हामी ढुक्क छौँ। हामीले आमजनता र सरोकारवालाबाट सुझाव सङ्कलन गरी त्यसैकै आधारमा नीति तथा कार्यक्रम र बजेट निर्माण गरेका छौँ। हामी हाम्रो स्थानीय तहमा रहेका स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै प्रादेशिक तथा सङ्घीय सरकारको सहयोगमा समृद्ध अनि समुन्नत रेसुङ्गा निर्माणका लागि निरन्तर लागिपरेका छौँ।

रेसुङ्गा क्षेत्रमा पर्यटन विकासको राम्रो सम्भावना छ। रेसुङ्गा क्षेत्रसहित यस नगरपालिकाको पर्यटन विकासका लागि के कस्ता काम सुरु गर्नुभएको छ ? 

हामीले रेसुङ्गा क्षेत्रको विकास र पर्यटनका लागि स्पष्ट योजना बनाएको छौँ। हामीले रेसुङ्गालाई बहुआयामिक दृष्टिकोणबाट पर्यटन विकासका लागि योजना तर्जुमा गरेका छौँ। केही दिनअघि ‘जाऊँ हिँड रेसुङ्गा’ अभियान सुरु ग¥यौँ। रेसुङ्गाको धार्मिक, ऐतिहासिक महत्वबारे प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाइ धार्मिक पर्यटक भित्र्याउन चाहन्छौँ। यसका लागि रेसुङ्गा संरक्षण समितिको समन्वयमा आवश्यक योजना अगाडि बढाएका छौँ। रेसुङ्गा वन क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न विभिन्न किसिमका अध्ययन, अनुसन्धानका क्षेत्र निर्धारण गरी अगाडि बढ्ने सोच बनाएका छौँ। यसका साथै लामो समयसम्म गुल्मेलीको प्रतीक्षामा रहेको विमानस्थललाई नियमित रूपमा सञ्चालनमा ल्याएका छौँ, यसले गर्दा पर्यटनलाई थप टेवा पुग्ने विश्वास लिएका छौँ। हामीले तीनै तहको समन्वय र सहकार्यमा अगाडि बढ्ने गरी योजना बनाएका छौँ। 

बेरोजगारी यहाँको पनि समस्या हो। रोजगारी नहुँदा युवा विदेश जानुपर्ने बाध्यता छ। युवालाई स्वरोजगार बनाउने वा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने तपाईंहरूको योजना केही छन् कि ? 

युवाको स्वरोजगारलाई हामीले निकै गम्भीर र जल्दोबल्दो विषयका रूपमा लिएका छौँ। युवालाई वैदेशिक रोजगारीमा पठाउने होइन, व्यावसायिक र उद्यमशील बनाएर स्वदेशमै राख्न चाहन्छौँ । युवालाई खाडीमा पसिना बगाउनेभन्दा पनि हाम्रै झाडीमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गर्न खोजेका छौँ। त्यो केही समयभित्र नै देख्न सकिने छ। हामीमाझ थुप्रै चुनौती छन्, तर हामीले ती चुनौतीमा नै सम्भावना देखेका छौँ। युवाले विदेशमा सिकेको सिप र दक्षता स्वदेशमै प्रयोग गर्ने वातावरण बनाउन नसकेको कुरा साँचो हो। यसका लागि हामीले दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्छ। हामीले केही योजना बनाएका पनि छौँ। अहिले हामीले नगर प्रमुखसँग युवा कार्यक्रमको नीतिलाई जोड दिएका छौँ। नगरभित्र विभिन्न क्षेत्रमा उत्पादनका पकेट क्षेत्र पहिचान गरी नमुना कृषि तथा पशुपालन फार्म, प्रशोधन केन्द्र स्थापना गर्दै युवाको साझेदारीमा व्यावसायिक युवासँग नगर प्रमुख युवा कार्यक्रमलाई जोडेका छौँ।