आँखा लाइरहेको छु, सूर्य कैले उदाउने हो
बसेर एक मधुर गीत, मैले कैले गाउने हो ।
बाटाका भीर, पहरा छिचोल्दै अघि बढ्नु छ
निराशा आए हौसला, आफैँले जगाउने हो ।
जीवनको फूलबारीमा, पसिना खूब बगाऊँ
खुसीको अश्रुधाराबाट, दुःखलाई बगाउने हो ।
परायाको भीडमा खोजूँ, मेरो पनि कोही छ कि
दुःखमा हात जो दिन्छ, उसित मीत लगाउने हो ।
राप, ताप पनि धेरै भो, जीवन जलिरहेको छ
चन्द्रमासित भनी सापटी, शीतलता मगाउने हो ।
खोजी खोजी टिपी टिपी, हाँसो खुसी सँगाल्नु छ
मनको कुना कुनाबाट, वेदना भगाउने हो ।