• १८ वैशाख २०८१, मङ्गलबार

दही र चिउरा खानुका यस्ता छन् फाइदा

blog

काठमाडौं, असार १५ गते । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले असार १५ मा दही–चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ ।

विज्ञका अनुसार रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा अचार खाजा खाने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही–चिउरा खाने चलन रहेको पोषणविद् बत्ताउँछन् ।

पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार असारमा कामको चाप भएकाले दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि असारमा दही चिउरा खाजाका रूपमा खाने चलन चल्दै आएको हो । 

उहाँ भन्नुहुन्छ,“असार महिनामा सबैजना काममा व्यवस्था हुने भएकाले दही–चिउरा चाँडो तयार पार्न सकिने मिठो र पोषिलो खाजा भएकाले पनि असारमा दही चिउरा खाने चलन चल्दै आएको हो ।”

पोषणविद् डा.कोइरालाले दही–चिउरा असार १५ मा मात्र नभई अन्य दिनपनि खाँदा स्वास्थ्यमा फाइदा पुग्ने गर्छ । 

उहाँ भन्नुहुन्छ, “दही–चिउरा खाना असार १५ मात्र कुर्नु पर्दैन । अरुबेला पनि दही–चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ । यो जुनसुकै उमेर समूहले जति बेला पनि खान सकिन्छ ।”

दही चिउराका साथै अचार अथवा तरकारीसँग दही–चिउरा खादा अझ पूरक र पोषिलो हुने डा. कोइराला बताउनुहुन्छ । दही–चिउरामा चिनी हालेर खानुभन्दा मौसमी फलफूलका साथमा मिसाएर खाँदा थप भिटामिन र खनिज पदार्थ पनि पाउन सकिने डा. कोइराला बताउनुहुन्छ ।

डा.कोइरालाका अनुसार दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ । यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया हुने उहाँ बताउनुहुन्छ ।

यसैगरी, चिउरामा भने कार्बोहाइड्रेड राम्रो स्रोत हो । त्यसका अलावा आइरन र प्रोटिन पाइने डा.कोइराला बताउनुहुन्छ ।

उहाँका अनुसार दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ ।

यस्ता छन् दही–चिउराका फाइदा

पोषणविद्का अनुसार दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ, दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ, पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ । त्यसका साथै दहीले मांसपेशी र हाड बलियो बनाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

चिउरामा प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्ने पोषणविद् बत्ताउँछन् । पोषणविद् कोइरालाका अनुसार फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी पाइन्छ । चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।