• १३ साउन २०८१, आइतबार

भरतपुरमा रोपाइँ महोत्सव

blog

खेतमा रोपाई गरेर २० औं धान दिवस एवम् रोपाइँ महोत्सव मनाइँदै । तस्विर : शान्ता अधिकारी

शान्ता अधिकारी 

चितवन, असार १५ गते । ‘मानो रोपेर मुरी फलाउने’ नेपाली मान्यतालाई सार्थक पार्दै शुक्रबार चितवनको भरतपुरमा २० औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव आयोजना गरिएको छ । भरतपुर महानगरपालिका ९ तीनतले चोक नजिकैको खेतमा रोपाई गरेर २० औँ धान दिवस एवम् रोपाइँ महोत्सव आयोजना गरिएको हो । 

भरतपुर महानगरपालिकाको आयोजना र कृषि ज्ञान केन्द्र चितवन, त्रिपुरेश्वर कृषि सहकारी संस्था भरतपुर ९ लगायत अन्य विभिन्न संस्थाहरूको सहआयोजनामा उक्त रोपाई महोत्सव आयोजना गरिएको हो । 

आगामी सन् २०२४ का लागि घोषणा गरिएको भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको उक्त रोपाई महोत्सवमा २० वटा विद्यालयहरूका विद्यार्थीहरुबीच हिले दौड प्रतियोगिता, विभिन्न सात महिला समूह बीच धान रोपाई प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

परम्परागत र प्रविधिमैत्री रोपाइँलाई एकै ठाउँमा प्रदर्शनी गरिएको उक्त कार्यक्रममा महानगर प्रमुख रेणु दाहालले हातले र मेसिनबाट समेत धानको बिउँ रोप्नु भएको थियो । कार्यक्रममा हल गोरुले एकातर्फ जोतिएको थियो भने अर्को तर्फ ट्याक्टरमा जडान गरिएको रोटाभेटरले सम्म्याउने र मेसिनले रोप्ने काम गरिएको थियो ।