• १३ पुस २०८१, शनिबार

कर्णालीमा बाउन्न हजार अपाङ्गता भएका व्यक्ति

blog

काँक्रेविहार समाचारदाता

सुर्खेत, असार १५ गते । कर्णाली प्रदेशको कुल जनसङ्ख्याको ३.१ प्रतिशत अर्थात् ५२ हजार ६०४ जना अपाङ्गता भएका व्यक्ति छ। तीमध्ये २.८ अर्थात् एक हजार ४५८ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्।

केही सार्वजनिक तथ्याङ्क अनुसार हरेक आठ जनामा एक जना मनोसामाजिक समस्या भएका व्यक्ति हुने गर्छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। तीमध्ये कुल अपाङ्गता जनसङ्ख्याको ४.३ अर्थात् २८ हजार ४५ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्।

आफू वा आफ्नो परिवारको सदस्य मानसिक रूपमा अपाङ्गता भएको छुट्याउन नसक्ने चेतनाको कमी हुनुले पनि सङ्ख्यात्मक हिसाबले कम देखिएको बताइन्छ। उनीहरूको भनाइमा ‘मनोसामाजिक अपाङ्गताको परिभाषा छुट्याउन सक्ने चेतनास्तर बढेमा अपाङ्गताको सङ्ख्या पनि बढ्न सक्ने’ देखिन्छ। राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन ‘कोसिस’ नेपाल परियोजनाले मनोसामाजिक अपाङ्गताभएका व्यक्तिको क्षेत्रमा कर्णाली प्रदेशमा काम गर्दै आएको छ। कोशी र मधेश प्रदेशबाहेकका अन्य प्रदेशमा काम गर्दै आएको परियोजनाले कर्णालीको वीरेन्द्रनगर नगरपालिकामा मात्रै कार्य क्षेत्र बनाएको छ।

कोसिसका अनुसार वीरेन्द्रनगरका १०९ जना मनोसामाजिक अपाङ्गता पहिचान भई सामाजिक रूपमा खुलेका छन्। यस्तै २१ जनाले परिचयपत्रसमेत लिई सकेको कोसिस नेपालका कर्णाली प्रदेश परियोजना अधिकृत महेश भट्टराईले जानकारी दिनुभयो। कोसिसले कर्णालीमा समाहित परियोजना अन्तर्गत प्रदेश र स्थानीय तहमा नीतिगत संलग्नता, सामाजिक समावेशीकरण र स्वपैरवीका क्षेत्रमा काम सन् २०२२ देखि काम गर्दै आएको छ।

राज्यकै नजर विभेदकारी

कोसिस नेपालको परियोजना अधिकृत  रविलोचन पौडेलका अनुसार मानसिक अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक, भौतिक रूपमा अवरोध गरिएको छ। नेपालका १४ वटा कानुनमा विभेदकारी व्यवस्था गरिएको बताइन्छ।

मनोसामाजिक अपाङ्गता के हो ?

शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत, सीमितता वा विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिलाई अपाङ्गता भएका व्यक्ति भनिएको छ। 

सर्वोच्च अदालतद्वारा प्रकाशित पुस्तकमा शारीरिक, दृष्टिसम्बन्धी, सुनाइसम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाइसम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तस्राव (हेमोफिलिया), अटिजम र बहुअपाङ्गतालाई वर्गीकरण गरिएको छ। 

अपाङ्गताभएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याका कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्तिलाई मानसिक वा मनोसामाजिक अपाङ्गता भनिएको छ।