• १३ साउन २०८१, आइतबार

जलकुम्भीले छोपियो फेवाताल

blog

सन्तोष सुवेदी

कास्की, असार १५ गते । बर्खा लागेसँगै फेवातालमा जलकुम्भी झारले ताललाई ढाकेको छ। वर्षाको भेलले माथिल्लो क्षेत्रमा रहेको जलकुम्भी बगाएर ल्याएपछि हल्लनचोकदेखि वाराहीघाटसम्मको क्षेत्र बढी कुरूप छ। 

जलकुम्भीले फेवाताल ढपक्कै छोपेपछि डुङ्गा सयर गर्न आएका पर्यटक नाक खुम्च्याउँदै फर्कन बाध्य छन्। २०७४ माघमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपियाँ र पोखरा महानगरपालिकाको ७५ लाख गरी एक करोड २५ लाख रुपियाँमा जलकुम्भी निकाल्ने मेसिन ल्याइएको थियो। 

पोखरा आउने पर्यटकको पहिलो रोजाइमा पर्ने फेवाताल जलकुम्भीले कुरूप बन्दा पोखरा महानगरपालिकाले करोड रुपियाँभन्दा बढी खर्च गरेर ल्याएको जलकुम्भी झार निकाल्ने मेसिन भने प्रयोगविहीन बनेको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले समयमै पोखरा महानगरले सरसफाइ गरेको भए फेवाताल कुरूप नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी नागरिकले ताल सफाइमा सहजीकरण र खबरदारी गर्ने हो तर काम ताल प्राधिकरण, पोखरा महानगर, पर्यटन व्यवसायीले गर्ने हो।” जलारी समुदायलाई दैनिक ज्यालादारीमा काम लगाउन सकेको भए फेवातालमा जलकुम्भी झार देख्न नपाइने उहाँको भनाइ छ। 

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जलकुम्भी झारले हरेक वर्ष बर्खामा ताललाई कुरूप बनाउँदै आएको बताउनुभयो। उहाँले सङ्घकै सक्रियतामा पटक पटक जलकुम्भी झार फाल्दै आए पनि दीर्घकालीन रूपमा न्यूनीकरण हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “बर्खाको बेला हर्पन खोलाले झार बगाएर ल्याउने गर्छ। केही समय पहिला सफा ताल अहिले झारले अव्यवस्थित बनाएको छ। यसलाई हटाउन पर्यटन व्यवसायीबाट पनि प्रयास भइरहेको छ।”

डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले जलकुम्भी झारले डुङ्गा सञ्चालनमा गाह्रो बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “जलकुम्भी झारले त बर्बाद बनाएको छ। झार फाल्दै डुङ्गा चलाउनुपर्ने अवस्था आएको छ। वाराहीघाटदेखि खहरेसम्म झारले समस्या ल्याएको छ।”  

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले फेवाताल सरसफाइ गर्ने अभियान क्रमिक रूपमा भइरहेको बताउनुभयो। उहाँले बर्खाको बेला दैनिक रूपमा भेल बाढी आउने हुँदा समस्या भइरहेको सुनाउनुभयो। उहाँले भन्नुभयो, “आज सफाइ ग¥यो, साँझ पानी परेपछि बाढीले झार बगाएर ल्याउँछ।” जलकुम्भी झार फाल्न ल्याइएको मेसिन चलायमान नभएको उहाँको भनाइ छ। उहाँका अनुसार मेसिनको सामान बिग्रिएर थन्किएर बसेको छ।