काठमाडौँ, असार १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजका सम्बन्धमा आफू जानकार रहेको र त्यस सम्बन्धमा थप छलफल भइरहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमार्फत नै बोर्ड खारेज भएको घोषणा गरिएको थियो । यसरी खारेज भएको घोषणा गरेपछि सरोकारवालाले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराउन गएका बेला प्रधानमन्त्री प्रचण्डले कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार डेरी क्षेत्रबाट आएर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएपछि त्यस विषयमा आफू जानकार रहेको तथा सम्बन्धित पक्षसँग थप छलफल गरेर यस विषयमा जानकारी गराउने भन्नुभयो ।
नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी सङ्घ र नेपाली डेरी साइन्स एसोसिएसनले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी सम्बन्धमा बिहीबार ध्यानाकर्षण गराउन गएका थिए ।
ती सङ्गठनले प्रधानमन्त्री प्रचण्डलाई दुधको उत्पादन लागत मूल्य, दुधको गुणस्तर सुधार, आयात निर्यात इत्यादि गर्न प्रवर्धन गर्ने कार्य बोर्डले गर्दै आएको जानकारी गराउँदै दुध सङ्कलन एवं ढुवानी तथा बजारीकरणका लागि कोल्ड चेनको पद्धतिको विकास गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको उनीहरूले प्रस्ट पारेका छन् ।
साथै कच्चा दुध तथा प्रशोधित दुधको गुणस्तर सुधारको अनुगमन, प्रवर्धन तथा जनचेतना अभिवृद्धिका कार्य पनि बोर्डले गर्दै आएका बारेमा पनि प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् । विश्वका धेरै देशमा जस्तै भारत, न्युजिल्यान्ड, डेनमार्क, अमेरिका जस्ता देशसँग समन्वय गरी उपयुक्त नीति निर्धारण तथा डेरी विकास सम्बन्धी कार्य अगाडि बढाउन बोर्डको भूमिका हुने देखिएकाले यसलाई अझ सशक्त बनाउनुपर्ने भनी प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएका छन् । दुग्ध नीति २०७८ को कार्यान्वयन कार्यविधि तयार गर्ने जस्ता बोर्डको मुख्य भूमिकासमेत रहेको हुँदा दुग्ध क्षेत्रमा विकासका लागि बोर्डको काम कारबाहीलाई अझ प्रभावकारी बनाई खारेज नगर्न ती सङ्गठनले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।